काठमाडौं, १ भदौ । नेकपा एमालेका नेता प्रदीप नेपालले पार्टीमा सबैभन्दा पहिला मोबाइल बोक्दा गाली खाएको स्मरण गर्नुभएको छ ।
नेपालमा मोबाइल सेवा सुरु हुनासाथ दुरसंचारका कर्मचारीपछि आफूले मोबाइल प्रयोग गरेको नेपालको भनाइ छ । धनीले प्रयोग गर्ने सामाग्री मोबाइल प्रयोग गरेको भन्दै आफूलाई पार्टी नेतृत्वले गाली तथा कार्यकर्ताले आलोचना गरेको उहाँले बताउनुभएको छ ।
प्रविधिका विषयमा अन्नपूर्ण पोस्ट गरेको कुराकानीमा नेता नेपालले भन्नुभएको छ, ‘दूरसञ्चारका कर्मचारीपछि मोबाइल फोन बोक्नेमध्येको म एक हुँ । मोबाइल फोन बोक्दा मलाई त सुविधा नै भयो तर खुब आलोचना पनि खेपें । मोबाइल बोक्दा पार्टी नेतृत्वले पनि मलाई गाली गर्दै भन्यो(’कम्युनिस्ट पार्टीको नेता भएर ठूल्ठूला धनाढ्य व्यक्तिले बोक्ने सामग्री बोक्ने रु’ कार्यकर्ताले पनि मेरो आलोचना गरे ।’
नेता नेपालले नेपालमा मोबाइल र कम्प्यटुर चलाउने आफू पहिलो नेपाली नेता भएको दाबी समेत गर्नुभएको छ । ‘नेपालका राजनीतिक नेताहरुमध्ये मोबाइल र कम्प्युटर चलाउने पहिलो नेता भएकाले होला, मलाई क्यानका साथीहरुले ‘हाइटेक लिडर’ भनेका हुन् । म नेपालमा कम्प्युटर जताजतै सहज नहुँदै चलाउने भित्रमा पर्छु । ५२ साल मै मैले धेरै तथ्यांक ल्याप्टपमा राखेको थिए । ५४ सालमा हटमेलको इमेल एकाउन्ट खोलेको छु, त्यसैले मलाई हाइटेक नेता भनेका होलान् ।’ उहाँले भन्नुभयो ।
नेता नेपालले आफू संचारमन्त्री भएको बेला नेपालमा मोबाइल भित्र्याउन ठूलो पहल गरेको बताउनुभयो । पढेर आएका नयाँ इन्जिनियरहरुको सल्लाह अनुसार सञ्चारमन्त्री भएका बेला आफूले चीनसँग मोबाइल भित्र्याउने बारेमा कुराकानी गरी नेपालमा मोबाइल भित्र्याएको उहाँले बताउनुभयो ।
















प्रतिक्रिया