३० आश्विन २०८३, शुक्रबार

पोष्टमार्टमपछि चरी घटना झनै ‘रहस्यमय’, शरीरभित्रै एक गोली भेटियो, परिवारले शव बुझेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chari-killed-in-shoot-out

काठमाडौँ, ३१ साउन । १० दिन अघि काठमाडौको भीमढुंगामा प्रहरी कारबाहीमा मारिएका भनिएका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को शनिबार पोस्टमार्टम भएको छ। तर, पोष्टमार्टम गरेर हेर्दा घटना झनै रहस्यमय देखिएको आफन्तको दाबी छ ।

घटना रहस्यमय भएको भन्दै पोस्टमार्टम भएपनि परिवारले लाश बुझ्न मानेका छैनन । पोस्टमार्टम गर्दा चरीको शरीरमा सात गोली लागेको उनका परिवारले जानकारी दिएका छन् । परिवारले दिएको जानकारी अनुसार चरीलाई हानेको ६ गोली पछाडिबाट अगाडि निस्किएको र एक गोली मेरुदण्डले छेकेर राखेको पत्ता लागेको छ । प्रहरीले भने आठ गोली लागेको बताएको थियो । ‘प्रहरीले आठ गोली लागेको भनेको थियो, तर पोष्टमार्टमबाट सात गोलीमात्रै देखियो । त्यसो भए एउटा गोली खोई त ? प्रहरीको भनाइ र पोष्टमार्टम रिपोर्ट मिलेन ।’- चरीका दाजु धुव्रले भने ।

सत्यतथ्य छानबिन नगरेसम्म लाश नबुझ्ने उनको अडान छ ।

यसरी गरियो पोष्टमार्टम

साउन २३ गते काठमाडौंको भीमढुंगामा प्रहरीसँगको मुठभेडमा मारिएका चरीको मृत्यु गोली लागेपछि अत्याधिक आन्तरिक रक्तश्रावका कारण मृत्यु भएको पोष्टमार्टमबाट खुलेको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार डा हरिहर वस्ति नेतृत्वको चिकित्सकको टोलीले चरीको शव पोष्टमार्टम गरेको हो । पोष्टमार्टमका क्रममा चरीका आफन्तको सिफारिसममा मनमोहन मेमोरियल अस्पतालमा कार्यरत चिकित्सक रामकुमार अधिकारी पनि संगै थिए ।

चरीका आफन्त आफ्नो तर्फबाट एक चिकित्सक पोर्टमार्टमका क्रममा सहभागी गराउन पाउने सहमति पछिमात्रै पोष्टमार्टमका लागि राजी भएको थिए । चिकित्सकहरुले चरीको भिसेरा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार पठाउने भएका छन् ।

पोष्टमार्टम गर्न परिवार किन राजी भयो ?

अदालती कारबाहीका लागि मृत्यु भएको आधिकारिक कागजात आवश्यक पर्ने भएकाले चरीको परिवार पोष्टमार्टम गर्न दिन राजी भएको हो । हत्यामा संलग्न रहेकाको कारबाहीको माग गर्दै चरीका परिवारले शुक्रबार चार प्रहरी अधिकारीसहित पाँचजनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन् । सर्वोच्चमा दायर गरेको रिटमा चरीको हत्या षडयन्त्रपूर्वक भएको र प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै घटनामा संलग्न उपर कारबाही गर्न माग गरिएको छ ।

रिटमा महानगरीय प्रहरी परिसर हनुमानढोकालाई किटानी जाहेरी लिन पनि परमादेश माग गरिएको छ ।

रिटमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै डिएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीकी प्रेमिका खुस्बु ओलीका भूपू प्रेमी अर्पण कोइरालालाई विपक्षी बनाइएको छ । रिट दायर गर्न खुस्बु पनि अदालत पुगेकी थिइन् ।

यसअघि अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी आयुक्तको कार्यालयमा किटानी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले त्यसै फर्काइदिएको थियो ।

प्रहरीले जाहेरी बुझ्न नमानेपछि आफुहरु अदालत धाउन बाध्य भएको चरीका दाजु ध्रुबले बताए । रिटको पहिलो पेशी सोमवार तोकिएको छ । चरीका परिवारले उनको शव पोष्टमार्टम गर्न जापान वा अमेरिका लैजान पाउनुपर्ने माग गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस:
चरी हत्यामा प्रहरीको विश्वास गर्न नसकिने केही तथ्यहरु