काठमाडौँ, ३१ साउन । स्वास्थ्यस्थितिका कारण प्रधानमन्त्री सुशील कोइरालाले शनिबार एउटा कार्यक्रममा सहभागी हुन सक्नुभएन् । प्रधानमन्त्रीलाई प्रमुख अतिथिका रुपमा निम्ताइएपनि स्वास्थ्यको कारण देखाउँदै उहाँ सहभागी नहुनुभएको हो ।
यद्यपि कोइरालाको सचिवालयले लिखित सन्देश भने पठायो । प्रा वासुदेवचन्द्र मल्ल स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित प्राविसी मल्ल स्मृति पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री कोइरालाले पठाउनुभएको लिखित शुभकामना मन्तव्यमा उहाँले संविधान निर्माण कार्यलाई समयमै सम्पन्न गर्ने गरी काम बढिरहेको उल्लेख गर्नुभएको छ ।
नेपालमा सात दशकदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानसभाले माघ ८ गतेभित्रै संविधान जारी गर्ने विश्वास व्यक्त गर्दै सन्देशमा संविधान लेखनलाई निष्कर्षमा पु¥याउन संवैधानिक समितिहरु सक्रिय रहेको जनाइएको छ ।
समाजलाई शिक्षा र प्रजातन्त्रको मार्गमा लैजान प्रा वासुदेवचन्द्र मल्लले पु¥याउनुभएको योगदान महत्वपूर्ण भएको चर्चा गर्दै सन्देशमा विद्वत् वर्ग समाजको आँखा भएको प्रधानमन्त्रीले जनाउनुभएको छ ।
कार्यक्रममा समाजसेवी मैयादेवी श्रेष्ठलाई यस वर्षको प्रा विसी मल्ल स्मृति पुरस्कार नगद १० हजार एकसहित प्रमाणपत्र र दोसल्ला ओढाएर प्रतिष्ठानका अध्यक्ष सहायक रथी नारायणचन्द्र मल्लले प्रदान गर्नुभएको थियो ।
पुरस्कारका सन्दर्भमा चर्चा गर्दै प्रतिष्ठानका अध्यक्ष मल्लले सामाजिक सेवाका क्षेत्रमा आजीवन क्रियाशील सुश्री मैयादेवी श्रेष्ठलाई उहाँले सामाजिक सेवाका माध्यमबाट समाजमा पु¥याउनुभएको योगदानको कदरस्वरुप सम्मान गरिएको बताउनुभयो ।
सम्मानित व्यक्तित्व सुश्री मैयादेवी श्रेष्ठले नेपाल आफैँमा विशिष्ट उचाइ प्राप्त भएको देश भएका कारण सम्पूर्ण नेपालीको एकताबद्ध प्रयासबाट देशलाई समृद्धिका मार्गमा लैजानुपर्ने बताउनुभयो ।
उहाँले प्रतिष्ठानका तर्फबाट पुरस्कारस्वरुप प्रदान गरिएको नगद प्रतिष्ठानको विकासका लागि उपयोग गर्न आग्रह गर्दै पुनः प्रतिष्ठानमा नै हस्तान्तरण गर्नुभयो ।
प्रतिष्ठानका सदस्य बसन्तकुमार गौतमले सामाजिक सेवाका क्षेत्रमा अनुकरणीय व्यक्तित्वका रुपमा रहनुभएकी सुश्री मैयादेवी श्रेष्ठको नेपालका विभिन्न क्षेत्रको विकासमा अतुलनीय योगदान रहेको बताउनुभयो ।
समाजमा लोकतान्त्रिक मूल्य, मान्यता, प्राज्ञिक क्षेत्रको प्राज्ञिक मर्यादालगायतका पक्षमा निरन्तर सङ्घर्ष गर्नुभएका स्व प्रा वासुदेवचन्द्र मल्ल नेपालको प्राज्ञिक एवम् राजनीतिक जगतका महत्वपूर्ण व्यक्तित्व भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्यहरु हरिहर दाहाल, नवीनप्रकाशजङ्ग शाह, सुरेश मल्ललगायतले समाजमा मानवीय मूल्य हराइरहेका वर्तमान अवस्थामा प्रा वासुदेवचन्द्र मल्लको आदर्शलाई सबैले आत्मसात् गर्न सक्नुपर्नेमा जोड दिनुभएको थियो । रासस
















प्रतिक्रिया