काठमाडौं, ३० साउन । अविरल बर्षासँगै आएको बाढी र पहिरोमा परी देशका विभिन्न भागमा ४१ जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोले सुर्खेतमा मात्रै २१ जनाको ज्यान गएको छ । ४४ जना हराइरहेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार, सबैभन्दा बढी सुर्खेत उपत्यकामा ९ जनाको मृत्यु भएको छ। बाबियाचौरमा चार, तरंगामा तीन, साटाखानीमा दुई र हरिहरपुर, मटेला र साहारेमा एकरएकजनाको मृत्यु भएको पौडेलले जानकारी दिए।
पश्चिम सुर्खेतको तातापानीमा २२ जना व्यक्ति हराइरहेका छन्। भेरी नदीको तटीय क्षेत्रमा रहेका घर डुबानमा परेपछि त्यहाँका स्थानीयको अवस्था अज्ञात रहेको प्रशासनले जनाएको छ।
यता, दाङमा ६ जना, चितवन, गोरखा र रोल्पामा ३–३ जना र सल्यान, मकवानपुर, नवलपरासी, बाँके र सर्लाहीमा १–१ जनाको मृत्यु भएको छ।
बर्दियामा पनि १२ जना बेपत्ता भएको बताइएको छ । डडेल्धुरा र दाङमा तीन–तीन र बझाङमा एक जना बेपत्ता भएका छन्।
राप्तीमा १० जनाको मृत्यु
बाढी पहिरो तथा बस दुर्घटनामा परि राप्ती अञ्चलमा १० जनाको मृत्यु भएको छ भने सयौँ विस्थापित भएका छन् ।
अविरल वर्षासँगै सडक चिप्लो भएको कारण भालुवाङ–प्यूठान –खलङ्गा सडक खण्डअन्तर्गत प्यूठानमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै घटनामा परि २५ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट धर्मावति बाग्दुला आउँदै गरेको पश्चिम नेपाल यातायातको लु१ख ३२३२ नम्बरको बस दुर्घटनामा पर्दा दाखाक्वाडी–७ का जितबहादुर विक र नामकुमारी दमैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिनुभयो ।
घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेकालाई उद्धार गरि उपचारका लागि ६ जनालाई जिल्ला अस्पताल र बाँकीलाई बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
वर्षापछि आएको बाढीले दाङमा मानवीय क्षतिसँगै सयौंघरहरू भत्किएका छन् । बाढीमा परेकामध्ये तीन जनाको मृत्युभएको छ भने केही बेपत्ता भएका छन् । उरहरी–६ मोतीपुरमा दुईको मृत्युभएको छ । उनीहरूको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । महिला र पुरुषको शव घरबाट निकालिएको छ ।
उरहरी–६ मोतीपुरमा अहिले करिब सय घरहरू बाढी पसेर भत्किएका छन् । त्यस्तै डुरुवा–१ गनारीमा बबई नदी गाउँमा पस्दा २५ वर्षीया उर्मिला भुजेलको डुबेर मृत्युभएको प्रहरीले जनाएको छ ।
यस्तै फुलबारी–६ बखरीयाका ४२ घरगोठ बगाएको छ । बाढीमा फसेका २५ जनालाई सकुशल उद्धार गरिएको स्थानीय देवीराम कुसारीले जानकारी दिनुभयो ।
त्यस्तै रुकुमको चुनवाङ–८ सिन्चौरमा नन्दराम घर्तीको घर पहिरोले पुर्दा सात वर्षीय विजय घर्ती र १० वर्षीय विमला घर्तीको मृत्यु भएको छ । उक्त पहिरोमा परी १४ वर्षीय पूर्णिमा घर्ती र रुकुमकोटबाट पाहुना आएकी ६ वर्षीय कमला मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक गौतमराज कट्टेलले जानकारी दिनुभयो ।
यसैगरी स्यालापाखा गाविस–१ वतासेडाँडामा पहिरोले हिरालाल वस्यालको घर पुरिएर उहाँको छोरी १० वर्षीया कल्पना वस्यालको ज्यान गएको छ । राति करिब १२ वजेतिर आएको पहिरोले घर पुरेपछि बालिकाको ज्यान गएको प्रहरी नायब उपरीक्षक कट्टेलले बताउनुभयो ।
उता रोल्पामा पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । पाखापनि गाविस–१ डाँडागाउँका ८ वर्षका पारस पुनको ज्यान गएको हो । आज बिहान घरको आगँनमा खेलिरहेको अवस्थामा घरमाथिबाट पहिरो जाँदा घाइते भएका बालकको उपचारको क्रममा सल्यान ल्याउँदै गर्दा बाटौमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राँक गाविस–२ मा स्थानीय कृष्ण वलीको घर भत्किदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीय लाली भण्डारी र सात वर्षीया करुणा वली रहेका छन् । उक्त घटनामा अन्य दुई जना घाइते भएको रोल्पाका प्रहरी प्रमुख नवीनराज राईले जानकारी दिनुभयो ।
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सडक सुचारु
नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलो भन्ने ठाउँमा माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ११ः३० बजे खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
दुवैतर्फ सडक खुलाउन प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो । माथिबाट ठुल्ठूला ढुङ्गा खसेकाले पहिरो हटाउन समस्या परेको हो ।
एकतर्फी बाटो सञ्चालनमा आएपछि सवारी साधन पालैपालो गन्तव्यतर्फ लाग्न थालेका छन् ।
कैलालीमा सातसय घरपरिवार डुवानमा
अविरल वर्षाका कारण कैलाली जिल्लाको पूर्वी क्षेत्रका झण्डै ७०० घरपरिवार डुवानबाट पीडित भएका छन् ।
प्रभावितमध्ये आज साँझसम्म ५०० परिवारको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसकर्मीको संयुक्त पहलमा उद्धार गरी सुरक्षितस्थानमा राखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनुभयो ।
प्रभावित परिवारको लगत सङ्कलन र उद्धार कार्य जारी रहेकाले प्रभावितको सङ्ख्या झण्डै एक हजार २०० भन्दा बढी पुग्नसक्ने घिमिरेले बताउनुभयो ।
जिल्लाको पूर्वी क्षेत्रका पथरैया, दुर्गौली, जानकीनगर, नारायणपुर, धनसिंहपुर, थापापुर, मुनुवा गाविस र टीकापुर नगरक्षेत्रका बासिन्दा डुवानबाट प्रभावित भएका हुन्् ।
कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा आएको बाढीसँगै कैलाली जिल्लातर्फ आएका कर्णालीका भङ्गालो जिल्लाको पूर्वी क्षेत्रका अधिकांश भागमा पसेपछि ती क्षेत्रका बासिन्दा बाढीबाट प्रभावित भएका हुन् ।
प्रभावितको अधिकांशको घरमा भएका खाद्यान्नमा क्षति पुगेको छ, प्रभावित परिवारलाई तत्कालै राहत बाँड्ने योजना रहेको छ ।
प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक नेतृत्वको एक टोलीले आज दिनभर डुवान प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यको अनुगमन गरेको थियो ।
यसैबीच, जिल्लाकै काँडा नदीमा आएको बाढीमा बगेर थापापुर गाविसका एक व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नदी तर्ने क्रममा ती व्यक्ति बगेर बेपत्ता भएको भए पनि उनको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
वर्षासँगै जिल्लाको सुगरखाल गाविस–९ को पितमाडी गाउँमा स्थानीय रङ्गप्रसाद सन्यालले सञ्चालन गरेको होटलमाथिबाट पहिरो खसेको र तलबाट कर्णाली नदीले कटान गरेकाले होटल जोखिममा परेको छ ।
पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव शुक्रबार साँझसम्म पनि खतराको सङ्केतभन्दा माथि रहेको छ ।
बाढीका कारण कर्णाली नदी मुहान भएको कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त रानी–जमरा–गुलरिया सिँचाइ आयोजनाको तटबन्धसमेत भत्किएको छ ।
गाईघाट (उदयपुर) : तीन दिनदेखि भएको निरन्तर वर्षाका कारण उदयपुर जिल्ला सिद्धिपुर गाविसको वीरेन्द्र बजारस्थित दिनेश राईको घर बिहीबार द्वारखोलाले बगाएको छ ।
राईको घर बगाउँदा करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।
द्वारखोलामा आएको बाढीका कारण वीरेन्द्र बजार नै डुबानको खतरामा रहेको स्थानीयवासी अशोक राईले बताउनुभयो ।
वीरेन्द्र बजारको दक्षिणपट्टिको वाइचङु डाँडाबाट पहिरो खसेर द्वारखोला थुनिन थालेपछि सो बजार डुबानको खतरामा रहेको स्थानीय विष्णु मगरले बताउनुभयो ।
बेलौरी (कञ्चनपुर) : कञ्चनपुर जिल्लामा बाढीका कारण दुई करोडभन्दा बढीको क्षति भएको छ ।
बाढीबाट दुई करोड ३६ लाख, ५६ हजार ३३० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बाढीले दोधारा–चाँदनी क्षेत्रका ४५ घर पूर्ण विस्थापित भएको प्रहरीले जनाएको छ ।
जाजरकोट : सल्लीबजार सडकखण्डको जगतिपुरको दारेगैरामा पहिरोले सडक भत्किएपछि यसखण्डमा चल्ने यातायातका साधनहरू आज बिहानैदेखि अवरुद्ध भएका छन् ।
सडकदेखि २०० मिटरमाथिबाट आएको पहिरोले ५० मिटरभन्दा बढी सडक भत्काएपछि यातायातका साधनहरू चल्न छाडेका हुन् ।
यसैगरी सक्ला गाविस वडा नं ८ मा पहिरोले तीनवटा घर पूर्णरुपमा बगाएको छ । घरमा रहेका लत्ता, कपडा, भाँडाकुँडा, पसल कुनै पनि बचाउन नसकिएको पशुसेवा कार्यालय सेपुखोला सक्लाका जेटिए गोविन्दबहादुर सिंहले बताउनुभयो ।
पहिरोले भत्काएका घरहरूमा रत्नबहादुर महतरा र दीपबहादुर शाहीका रहेका छन् भने नौवटा घर उच्च जोखिममा परेको सिंहले बताउनुभयो ।
बिहान पहिरो गएका कारण घरभित्र भएका मानिसहरूले भागेर ज्यान बचाएका थिए ।
बर्दिया: बुधबारदेखि अविरल परेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि बर्दिया राजापुर क्षेत्रका विभिन्न स्थान डुबानमा परेका छन् ।
बाढीले राजापुर नगरपालिकाका केही गाउँलगायत मुर्गौवा, छेदिया, प्रेमनगर, शङ्करपुरवस्तीलगायतका गाउँहरू डुबानमा परेका हुन् । गत वर्ष पनि राजापुर क्षेत्रका विभिन्न क्षेत्रमा बाढीले हजारौँ परिवार प्रभावित भएका थिए ।
यसैगरी बबई नदीमा पानीको सतह बढेपछि गुलरिया क्षेत्रका केही गाउँलगायत मनाउ, दौलतपुर, पाताभार, मोहम्मदपुर, नेउलापुर, शिवपुर, ठाकुरद्वारा बगनाह गाविसका विभिन्न वडाहरू डुबानमा परेका छन् ।
बाढीका कारण कुसुम्वा घाटमा नवनिर्मित झोलुङ्गेपुल बग्ने खतरा रहेको छ । डुबान क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
गोलबजार (सिरहा) : कमला नदीको पूर्वी तटबन्ध भत्केर गाउँमा पसेको बाढीले सिरहाका–९ गाविस र सिरहा नगरपालिकाका केही भाग जलमग्न भएका छन् । बाढीबाट नौ गाविसका करिब ५०० परिवार घर छाडेर सुरक्षित स्थानमा भोकै रात बिताउन बाध्य भएका हुन् ।
भेडियाको सिसौघारी नजिक कमला नदीको बाढीले पूर्वी तटबन्ध बिहीबार बिहान भत्काएको थियो । उक्त तटबन्धको १५० मिटर भत्काएर नदीको बहाव नै पूर्वतिर फर्किएकाले खतरा बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले बताउनुभयो ।
उच्च जोखिममा परेको विष्णुपुर प्रराको जमुवा गाउँका २२१ जना विस्थापित भएका छन् ।
बाढीले भोक्राहा, चिकना र विष्णुपुर प्रराको जमुवा गाउँ घेरिएको छ भने इटारी प्रसाही, चतरी, बेल्हा, सारस्वर, मल्हनिया गम्हरिया, मडार गाविस र सिरहा नगरपालिकाको ३, ४, ५, ६, ७, ८ वडा प्रभावित पारेको छ ।
गाउँमा बाढीको पानी २ / ३ फिटसम्म जमेकाले फुसका घरहरू भत्किन थालेका छन् । बाढी प्रभावितहरू गाउँमा रहेको पक्की घर र कमला नदीको तटबन्धमा आश्रय लिएर बसेका छन् ।
बाढीको पानीले सिरहा मिर्चैया सहायकमार्गको सिरहा नगरपालिका २ र सारस्वर गाविसको दुई ठाउँमा भत्काएपछि सडक अवरुद्ध भएको छ । अहिले पश्चिमवर्ती एक दर्जन गाविस सिरहा सदरमुकामसँग सम्पर्क विच्छेद भएका छन् ।
नदीको बहाव कम नभएकाले तटबन्ध मर्मत कार्य सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी खाँले बताउनुभयो । जिल्ला विकास समिति सिरहाले बाढीपीडितका लागि खरिद गरेको रु एक लाख मूल्यबराबरको खाद्यान्न वितरण गर्ने तयारी भइरहेको उहाँले भन्नुभयो ।
डोल्पा (दुनै) : वर्षायामको सुरुवातसँगै डोल्पा सदरमुकाम दुनै उच्च जोखिममा रहेको छ ।
साउन महिना सुरु भएलगत्तै ठूलो भेरीमा पानीको बहाव औसतभन्दा धेरै बढे पछि सदरमुकामवासी त्रसित रहेका स्थानीय हरि कार्कीले बताउनुभयो ।
नदीले हरेक वर्ष आफ्नो मार्गलाई फराकिलो बनाउँदै लगेकाले नदी आसपासका खाली जमिन भासिँदै गएको र यसको रोकथामका लागि कुनै पनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासी बबिकिशोर गुरुङले गुनासो गर्नुभयो ।
गाउँमा बाढी पस्यो, बाँकेका गाउँलेहरूको भागाभाग
विगत तीन दिनदेखि बाँके जिल्लालगायत मध्यपश्चिम क्षेत्रमा परिरहेको अविरल वर्षापछि राप्ती नदीमा जलस्तर बढेर गाउँमा बाढी पसेपछि स्थानीयवासीको भागाभाग भएको छ ।
बाँके जिल्लाको कुसुमस्थित बाढी मापन केन्द्रका अनुसार, नदीको जलस्तर ८ मिटर ३० सेमि पुगेको छ । नदीमा पानीको सतह ५ मिटर ४० सेमि पुग्यो भने खतराको चिह्नमा पुगेको मानिन्छ ।
जलस्तर बढेर नदी क्षेत्रका टेपरी, पिप्रहवा, होलिया, बेतहनी, लक्ष्मणपुर, नरैनापुर, फत्तेपुरलगायतका गाउँमा बाढी पसेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
नदी क्षेत्रअन्तर्गत अति जोखिममा रहेको होलिया गाउँ बढी प्रभावित भएको सहायक प्रजिअ गन्जबहादुर एमसीले जानकारी गराउनुभयो । उहाँका अनुसार सो गाउँका सबै जनता घर छाडेर सुरक्षित स्थानतर्पm लागेका छन् । “त्यहाँका नागरिक अहिले ज्यान बचाउन चिच्याइरहेका अवस्थामा छन्”, उहाँको भनाइ थियो । उनीहरूको उद्धारका लागि सेना र प्रहरी परिचालन गरिएको छ ।
राप्ती नदीको बाढीले गाउँ क्षेत्र डुबानमा परेपछि स्थानीय प्रशासन कार्यालयले कस्टर समूहअन्तर्गतको उद्धार समूह, राहत समूह र स्वास्थ्य समूहलाई नेपालगन्ज तथा सम्भावित डुबान प्रभावित गाउँ क्षेत्रमा परिचालन गरेको छ ।
शुक्रबार बिहान अर्का सहायक प्रजिअ कृष्णप्रसाद आचार्यसहितको टोलीले बाढी डुबान क्षेत्रको अवलोकन गरेपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले त्यस क्षेत्रका नागरिकको छिटो उद्धारका लागि केन्द्रसँग थप आवश्यक सहयोग माग गरेको छ ।
भारतले बाँके जिल्लाको नेपाल–भारत सीमा नजिक अन्तर्राष्ट्रिय कानुन विपरीत भारतीय क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र तटबन्धका कारण राप्ती नदीको प्राकृतिक बहाव रोकिन गई बाँके जिल्लाको राप्तीपारी नेपाली भूमिका आधा दर्जनभन्दा बढी गाविसका नागरिक प्रत्येक वर्ष बाढी तथा डुबानको जोखिम मोल्न बाध्य छन् ।
दाङमा बाढी र पहिरोका कारण मृत्यु हुनेको सख्या छ पुग्यो
बबई नदीमा आएको बाढीका कारण डुबेर मृत्यु हुनेको सख्या चार पुगेको र घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बाढी र पहिरोबाट आज मात्र मृत्यु हुनेको सख्या छ पुगेको हो ।
पश्चिम दाङको पुरन्धरा गाविस–९ गङ्गटेमा पहिरो घरमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २७ वर्षीय देउकला कुँवर र उनकी छ वर्षीया छोरी गङ्गा कुँवर रहेका छन् । बबई नदीको बाढीको डुवानका कारण बिहानैदेखि बेपत्ता भएकी डुरुवा गाविसकी ४० वर्षीया नुमकुमारी खत्रीको पनि शव फेला परेको छ ।
यसअघि शुक्रबार दिउँसो डुरुवा १ की २५ वर्षीया उर्मिला भुजेल र उरहरि गाविस–६ मोतिपुरका ६० वर्षीय खुशिराम चौधरी र उनकी श्रीमतीको बाढीमा डुबेर मृत्यु भएको थियो ।
गोरखामा तीनको मृत्यु
अविरल वर्षापछि गएको पहिरोले गोरखाको फिनाम गाविस–६ स्थित पन्थेश्वरी प्राविको बाल कक्षा शुक्रबार पहिरोले पुर्दा तीनजना अभिभावकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
घटनामा दुई जना विद्यार्थीसहित आठ जना अभिभावक घाइते भएका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा एकैघरका दुईजना किरण सिर्मल र देउमाया सिर्मल र हिरामाया बयलकोटीको घटनास्थलमै मृत्यु भएको छ ।
गम्भीर घाइते लीला बसेललाई गोरखा अस्पतालमा उपचार गराएर थप उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज पठाइएको गोरखा अस्पतालले जनाएको छ ।
अन्य घाइते कमला बयलकोटी, मीना खनखवास, दीपक बसेल, सान्नानी कुँबर, निर्मला घिमिरे, कविता बसेल र टोपमान सिर्मलको भने गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
विद्यालयलाई स्टेसनरी, खेलकूद तथा आर्थिक सहयोग गर्न गएको कोरिएन टोलीले बालकक्षामा कार्यक्रम गरिरहेको समयमा पहिरो गएको हो । पहिरोमा एक कोरिएन नागरिक पनि सामान्य घाइते भएका छन् ।
पहिरोले बालकक्षा पुरेलगत्तै स्थानीयले उद्धार गरेको विद्यालयकी प्रध्यानाध्यापिका मीना अधिकारीले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक राजकुमार पाण्डे पनि पहिरोमा पुरिएर सामान्य घाइते हुनुभएको छ । त्यस्तै कार्यक्रम हेर्न गएका स्थानीय निराजन वाग्ले पनि घाइते हुनुभएको निर्मला वाग्लेले जानकारी दिनुभयो ।
यस्तो छ सरकारी तयारी
गृह मन्त्रालयले विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरो र तत्पश्चात भएको डुबान तथा मुलुकका पाँचै विकास क्षेत्रका विभिन्न जिल्लामा भएको जनधनको क्षतिबारे विवरण सङ्कलन गरी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने बताएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपप्रधान तथा स्थानीय विकासमन्त्री, सहरी विकासमन्त्री, सिँचाइमन्त्री र मूख्य सचिवसमेतको उपस्थितिमा आज बसेको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको आकस्मिक बैठकले डुबानबाट परेको असर तथा क्षतिको विश्लेषण गरी घटनाबारे चौबिसै घण्टा सूचना सङ्कलन, समन्वय र सम्प्रेषण गर्ने व्यवस्थाका लागि केन्द्र र जिल्लामा कमान्ड पोस्ट खडागरी चौबिसैँ घण्टा खोज, उद्धार र राहतका कार्य जारी राख्ने निर्णय गरेको हो ।
केन्द्रबाट बिपद् प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्यका लागि जाँदा आवश्यकताअनुसार लैजानुपर्ने हेलिकप्टर र परिचालन हुने जनशक्तिलाई सम्बन्धित निकायले पूर्ण तयारी अवस्थामा राख्ने, मौसम अनुकूल हुनासाथ तुरुन्तै परिचालन गर्ने गरी आवश्यक साधन स्रोत र जनशक्तिको व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी बैठकले डुबानग्रस्त क्षेत्रमा सम्भावित जनधनको क्षति रोक्न विभिन्न चारवटा नेपाल भारत सीमामा रहेका ब्यारेजका ढोकाहरू खोल्नका लागि छिमेकी मित्रराष्ट्र भारत सरकारसँग कूटनैतिक पहलको व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय गरेको छ ।
विभिन्न विषयगत मन्त्रालयहरूलाई बिपद्पश्चात् गर्नुपर्ने कार्यहरू सञ्चालन गर्न र बिपद् प्रभावितका लागि सहयोग गर्न चाहने इच्छुक दाता, संघसंस्था वा व्यक्तिहरूले रकम जम्मा गर्न चाहेमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको खातामा रकम जम्मा गर्नेगरी सूचना प्रकाशित गर्ने, निजी क्षेत्रका हेलिकप्टरहरूलाई आवश्यक परेका बेलामा उद्धार कार्यमा परिचालन हुने गरी तयारी अवस्थामा राख्न निर्देशन गर्ने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाढी पहिरोबाट मध्य र सुदूरश्चिमका जाजरकोट, रुकुम, सल्यान, बाँके, बर्दिया, सुर्खेत, कैलाली, बाजुरा, डडेलधुरा, पश्चिमाञ्चलको गोरखा, मध्यमाञ्चलका ललितपुर, सिन्धुपाल्चोक, दोलखा, उदयपुर, रौतहट, धनुषा, सर्लाही महोत्तरी, सिराहा, धनुषा, र सिन्धुलीलगायतका जिल्ला बढी प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
घटनाको जानकारी हुनासाथ स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल तत्कालै ती स्थानहरूमा परिचालित भएको र खोज, उद्धार र राहत वितरणका कार्यमा सम्बन्धित जिल्लाका जिल्ला दैवी प्रकोप उद्धार समितिहरूबाट आवश्यक काम भइरहेको जनाएको छ ।
गृह मन्त्रालयका अनुसार बाढी पहिरो र ढुबानमा परी पछिल्लो समय विभिन्न जिल्लाका गरी ५३ जनाको मृत्यु, ३६ जना घाइते र ७५ जना बेपत्ता भएका छन् भने १९२ वटा घर पूर्ण र २४ वटा घरमा आंशिक क्षति भएको र सयाँै घर डुबानमा परेका छन् ।
















प्रतिक्रिया