काठमाडौं, ३० साउन । एउटा डनका निम्ति प्रेमसम्बन्ध कति खतरनाक हुन्छ भन्ने कुरा चलचित्र हेर्ने आमदर्शकले थाहा पाएकै कुरा हो ।
डन समाप्त हुने विभिन्न कारणहरुमध्ये उसको गहिरो प्रेमसम्बन्ध नै हुन्छ भन्ने कुरा थुप्रै मुम्बइया चलचित्रमा देखिँदै आएको छ । चलचित्रले समाजकै कथा बुनेको हुन्छ भन्ने कुरालाई आधार मान्ने हो भने अहिलेको सर्वाधिक चर्चित चरी मृत्यु प्रकरण पनि त्यसको नमुना देख्न सकिन्छ।
साउन २१ गते मारिएका भनिएका दिनेश अधिकारी ुचरीुको मृत्युमा पनि प्रेम सम्बन्धका कुनै न कुनै छटा प्रष्ट रुपमा देखिन्छ। उनकी प्रेमिका खुश्वु ओलीले घटनाको खबर फैलिएको केही समयमै दिनेश र आफूबीच पारिवारिक सम्बन्ध रहेको बताउँदै उनको हत्या गरिएको र त्यसको एउटा कारण आफूसँगको दिनेशको सम्बन्ध भएको बताएपछि त्यसले थप पुष्टि पाएको हो।
घटनाका परिदृश्यमा प्रष्ट रुपमा मुख्य चार पात्र छन् , चरी, मोडल खुश्वु ओली, पूर्वप्रेमी अपर्ण कोइराला एवं प्रहरी एन्सपेक्टर कुमोद ढुंगेल। त्यस बाहेक चरीसम्बद्ध परिवारजन एंव उनको ग्याङका सदस्यहरु, सभासद, प्रहरी प्रशासन, गृहमन्त्री, दलका नेताहरु तथा अपर्ण र खुश्वुसँग सम्बन्ध रहेका व्यक्तिहरु सामान्य भूमिकामा छन् ।
वास्तवमा केही मानिसका निम्ति प्रेमसम्बन्ध निकै भारी हुन्छ। मानिसहरु अफेयर ब्रेक भएको ट्रेजडीमा विभिन्न समस्याको सिकार हुन्छन् तर, दिनेश अधिकारी अर्थात चरीले भने ज्यानै गुमाउनुपरेको छ।
चलचित्रको क्लाइमेक्स सिनलाई प्रहरीले भीमढुंगामा बिसाएपनि चरी निकट पात्रहरुको सक्रियताका कारण यो कथा केही लम्बिने संकेत देखिएको छ।
प्रेमिका खुश्वुले चरीलाई इन्काउन्टरमा मारिएको भनेर खुला रुपमा भनेपछि चुनावी दिनमा चरीको पर्याप्त सहयोग पाएका धादिङका ३ जना सभासदले सदन चर्काए ।
संसदलाई प्रहरीसँगको मुठभेडमा चरीको मृत्यु भएको विवरण दिने गृहमन्त्रीको प्रतिवेदनमाथि एमालेसम्बद्ध धादिङका सभासदहरुले चित्त नबुझाएपछि सरकार घटनाको संसदीय छानविन गराउने अवस्थामा पुगेको छ । आजको साप्ताहिकमा समाचार छ।
















प्रतिक्रिया