२ कार्तिक २०८३, सोमबार

इबोला भित्रन नदिन नेपालमा पनि सतर्कता, अफ्रिकी मुलुकको भ्रमण नगर्न मन्त्रीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khagaraj-adhikaryकाठमाडौं, साउन २८ । स्वास्थ्यमन्त्री खगराज अधिकारीले इबोला भाइरसको महामारी फैलिएकाले तत्काल अफ्रिकी मुलुकहरुको भ्रमण नगर्न नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले बुधवार गरेको साक्षात्कार कार्यक्रममा मन्त्री खगराज अधिकारीले पश्चिम अफ्रिकाबाट विश्वभर इबोला रोग फैलिएकाले लाइवेरिया, नाइजेरियासहित पश्चिम अफ्रिकी मुलुकको भ्रमण नगर्न नेपालीहरुलाई आग्रह गर्नुभएको हो । मन्त्री अधिकारीले ती देशबाट मासुजन्य पदार्थको आयात नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले इबोलाको प्रभाव नेपालमा पनि पर्ने भएकाले सरकारले यसको रोकथामको लागि सवै संयन्त्र प्रयोग गरिसकेको जानकारी दिनुभयो । ती देशबाट आएका यात्रुहरुलाई पनि त्रिभुवन बिमानस्थलमा स्वास्थ्य परीक्षण सुरु गरिएको स्वास्थ्य मन्त्रीले जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो– ‘विश्व स्वास्थ्य संगठनले गत अगस्ट ८ मा नै विश्व स्वास्थ्य आपतकालिन घोषणा गरिसकेको छ । त्यसैले नेपालमा पनि हामीले यसको रोकथामको लागि सवै उपायहरुवारे सरकारले तयारी गरिसकेको छ । हामी नियन्त्रणको लागि सक्रिय छौं ।’

मन्त्री अधिकारीले इबोला नियन्त्रणका लागि सरकारले सवै नाकाहरुमा हेल्थ डेस्क राख्ने निर्णय गरिसकेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यो रोग नेपाल भित्रिने सवैभन्दा खतरा भनेको पश्चिमी अफ्रिकी मुलुकबाट नेपाल भित्रिने नेपालीहरु र विदेशी पर्यटकका कारण हो, त्यसको लागि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकअप गर्छ । उहाँहरुको स्वास्थ्य परिक्षण गर्दा उक्त रोगको संक्रमण देखियो भने उहाँहरुलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गर्छौ । यो भाईरसको आयू भनेको २१ दिनको हो, त्यसैले तीन हप्तासम्म सतर्कता अपनाउन जरुरी छ ।’

अधिकारीले यो रोग नियन्त्रण गर्न सरकारले जस्तोसुकै कदम चाल्न पछि नपर्ने पनि बताउनुभयो । यो रोग नियन्त्रणका लागि बजेटको अभाव पनि नहुने उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘बजेटको अभावका कारण नियन्त्रणका कार्यक्रमहरु रोकिँदैनन् । हामीले देशव्यापी जनचेतना फैलाउन पनि ७५ जिल्लाका जनस्वास्थ्य कार्यालयमा ईपिडोमोलोजी विशेषज्ञहरु खटाइसकेका छौं ।’

मन्त्री अधिकारीले नेपाल सरकारले मात्रै यो रोगको नियन्त्रण गर्न सक्ने नभएकाले नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुसंग पनि यथाशिघ्र छलफल शुरु गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा नागरिक समाजका अगुवा एवम् बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले इबोला भाईरसबाट लाग्ने रोग अत्यन्तै खतरनाक भएको भन्दै तुरुन्त यसको रोकथामका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । दीक्षितले यो रोग नेपाल भित्रिने खतरा प्रवल भएको बताउँदै यसको रोकथामका लागि सरकारले आवाश्यक पहल कदमी चालिहाल्नुपर्ने सुझाव दिनुभयो ।