२ कार्तिक २०८३, सोमबार

प्रहरीले जाहेरी लिएन, ‘चरी’का आफन्तले सर्वोच्च अदालत गुहार्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chari

मोहन बास्तोला

काठमाडौं, २७ साउन । प्रहरीले जाहेरी बुझ्न नमानेपछि प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका दिनेश अधिकारी ‘चरी’का आफन्तहरुले सर्वोच्च अदालत गुहार्ने भएका छन् ।

दिउँसो २ बजेतिर महानगरीय प्रहरी परिसर हनुमानढोका पुगेका चरीका आफन्तहरुलाई प्रहरीले त्यसै फर्काइदिएको हो ।

‘हामी जाहेरी बोकेर हनुमानढोका पुगेका थियौं, डीएसपी रमेशकुमार बस्नेतले हाँसेर टार्नुभयो, उहाँले मानवीय व्यवहार समेत गर्नुभएन,’ चरीका दाजु ध्रुव अधिकारीले दैनिक नेपाललाई भने, अन्त्यै जानुस, यहाँ जाहेरी दर्ता हुँदैन भन्नुभयो । हामी फर्कियौं ।’

हनुमानढोकाले जाहेरी बुझ्न नमानेपछि चरीका आफन्त र शुभेच्छुकहरु रानीपोखरीस्थित महानगरी प्रहरी आयुक्तको कार्यालय पुगेका थिए । त्यहाँ पनि ‘यो जाहेरी यहाँ हुँदैन भन्ने आदेश छ’ भनेर गेटबाट भित्रै छिर्न नदिनेको ध्रुवले बताए ।

प्रहरीले दोहोरो मुठभेडमा मारिएको भनेपनि चरीका आफन्तहरुले पत्याएका छैनन् । कुनै कोठामा हत्या गरेर भीमढुंगाको जंगलमा लगेर फालेको आफन्तहरुको दाबी छ ।

दिनेशका दाजु धुव्रले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने र मानवअधिकार आयोगमा पनि उजुरी दर्ता गर्ने जानकारी दिए । ‘अब अदालत र मानवअधिकार आयोगलाई गुहार्नु हाम्रो बाध्यता हो ।’– उनले भने ।

घटनामा अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की, डीएसपी मीरा चौधरी, इन्स्पेक्टर कुमुद ढुंगेल लगायतका प्रहरीहरु दोषी रहेकाले उनीहरुविरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेको चरीका दाजु ध्रुब अधिकारीले जानकारी दिए ।

करिब २० जना चरीका आफन्त र शुभचिन्तकहरु वकिललाई साथ लिएर प्रहरीसमक्ष पुगेका थिए । तर, चरीकी प्रेमिका भनिएकी खुस्बू ओली भने जाहेरी दर्ता गर्न गइनन् ।