काठमाडौं, २२ साउन । बुधवार साँझ काठमाडौँको भीमढुंगामा प्रहरीको गोली प्रहारबाट मारिएका राजधानीका चर्चित डन दिनेश अधिकारी ‘चरी’को बारेमा निष्पक्ष छानविन गर्न सभासद्ले माग गरेका छन् ।
बिहीवारको संसद् बैठकका नेकपा एमालेका सभासद् राजेन्द्र पाण्डेले समय माग गरेर बोल्दै निष्पक्ष छानविनको माग गर्नुभएको हो ।
प्रहरीले चरीको दाहोरो भिडन्तमा नभई षडयन्त्रपूर्ण हत्या गरेर कानुन हातमा लिएको भन्दै उहाँले अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाका प्रमुख, एसएसपी पुष्कर कार्कीलाई निलम्बन गरी निष्पक्ष छानविनको समेत माग गर्नुभयो ।
‘प्रहरीले दोहोरो भिडन्तमा मारिएको भन्यो, भीमढुंगामा जहाँ शव भेटिएको छ त्यहाँ एक थोपा रगत पनि छैन,’ उहाँले भन्नुभयो, ‘त्यसको मतलव उसलाई मारिसकेर त्यहाँ लगेको देखिन्छ ।’
पाण्डेले हनुमान ढोकामा केरकारमा रहेको एक इस्पेक्टरले चरीसँग इन्गेजमेन्ट भइसकेकी उनकी प्रेमिका खुसबु ओलीलाई विहे नगर्न पटक पटक धम्की दिने गरेको र चरी घटनामा उनी पनि संलग्न हुनुले घटना रहस्यमय बनेको दाबी गर्नुभयो ।
गृहमन्त्रीले यसको जवाफ संसद्मा दिनुपर्ने र घट्नाको निष्पक्ष छानविन समिति गठन गर्नुपर्ने पनि उहाँले माग गर्नुभयो । निष्पक्ष छानविन नभए संसद्समेत अवरुद्ध पार्ने उहाँको चेतावनी थियो ।
















प्रतिक्रिया