काठमाडौं, २१ साउन । राजधानीका चर्चित डन दिनेश अधिकारी ‘चरी’ मारिएका छन् ।
बुधवार साँझ ५ वजे काठमाडौँको भीमढुंगामा प्रहरीको गोली प्रहारबाट चरी मारिएका हुन् ।
प्रहरीले दोहोरो भिडन्तमा मारिएको बताएको छ ।
तर, सेल्टर खोजेर लुक्दै हिँडेका चरीलाई नियोजित रुपमा प्रहरीले हत्या गरेको चरीका एक सहयोगीले दैनिक नेपाललाई बताए । उनका अनुसार चरीलाई दुई वटा गोली लागेको थियो । उनी बा ४९ प ३११२ नम्वरको पल्सर मोटरसाइकलमा सवार थिए।
अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाका प्रमुख, एसएसपी पुष्कर कार्कीले भने चरी मुठभेडमा मारिएको दाबी गरेका छन् । चरी लामो समयदेखि फरार थिए ।
काठमाडौँमा लामो समयदेखि गुण्डागर्दी को राज मच्चाएका चरी धादिङका अर्का डन राधेको समूहसँग भिडन्त भएपछि भुमिगत भएका थिए । उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।
चरी धादिङ क्षेत्र नम्बर १ का एमाले उपाध्यक्ष समेत रहेका थिए ।
को हुन् चरी ?
राजधानीमा चर्चित डनका रुपमा कहलिएका दिनेश अधिकारी ‘चरी’ धादिङ त्रिपुरेश्वर गाविस खहरेका स्थायी बासिन्दा हुन् ।
एमाले धादिङ क्षेत्र नम्बर–१ का उपाध्यक्ष समेत रहेका उनी प्रहरीको ‘मोष्टवान्टेड’ सूचीमा थिए ।
प्रहरीमा उनीमाथि गोलीकाण्ड, फिरौती र लुटपाटलगायत दर्जनौं मुद्धा थिए।
एमाले नेता गोकर्ण विष्टमाथि मन्त्री भएकै दिन केही वर्षअघि खुकुरी प्रहार गरेको आरोप पनि उनीमाथि थियो ।
रमेश खरेल काठमाडौँ प्रहरी प्रमुख रहेका बेला आत्मसमर्पण गरेका चरी त्यतिबेला ७ महिना जेल बसेर छुटेका थिए ।
नयाँबजार र बालाजु क्षेत्रमा एक दशकदेखि एकछत्र राज गर्दै आएका चरी पटक पटक जेल परेर पनि राजनीतिक नेताको दबाबमा छुट्ने गरेका थिए ।
उनले सुरुमा गुण्डानाइके कुमार घैँटेसँगै मिलेर काम गरेका थिए । पछि घैँटेसँग विवाद भएपछि २०६३ सालतिर अलग भएका थिए । २०६४ सालमा पटक–पटक यार्सागुम्बा लुटेर उनी प्रहरीको नजरमा परेका थिए ।
२०७० साल कात्तिकमा उनी खाग तस्करीमा सम्लग्न भएको आरोपमा सिआइबीले पक्राउ गरेको थियो । त्यतिबेला पनि उनी केही समय जेल बसेर छुटेका थिए ।
एक वर्षअघि नैकापमा राधे भण्डारीको समूहले उनीलाई गोली हानेको थियो ।
ललितपुरका मीनकृष्ण महर्जनको गोली प्रहार घटनामा पनि चरी अभियुक्त थिए।
















प्रतिक्रिया