कृष्णउदास खनाल
वीरगन्ज (पर्सा), २० साउन । सदरमुकाम वीरगन्जबाट सुदूरउत्तरमा पर्ने जिल्लाकै अन्तिम गाविस ठोरी वीरगन्जदेखि मात्रै करिब ६८ किलोमिटरको दूरी र समुद्री सतहदेखि करिब १९५ मिटरको उचाइमा रहेको ठोरीमा पछिल्ला दिनमा पर्यटकको चलहपहल बढेको छ ।
विसं २०५० अघिसम्म चितवन, गोरखा, धादिङ लगायतका बासिन्दा नुन लिन भारतीय भूमिमा जान यही गाविस हुँदै आउने गरेको स्थानीय अग्रज आशबहादुर गुरुङको अनुभव रहेको छ । अहिलेको जस्तो यातायातको सुविधा नभएको र पैदल यात्राका लागि यो बाटो छोटो पर्ने भएकाले पनि नुन लिन आउनेको ओइरो लाग्ने गरेको गुरुङको भनाइ छ ।
ठोरी गाविसलाई पूर्वमा पर्सा वन्यजन्तु आरक्ष, पश्चिम र उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा शोमेश्वर डाँडाले घेरेको छ । गाविससँगै चितवन राष्ट्रिय निकुञ्ज जोडिएका कारण पनि संसारमै दुर्लभ मानिने संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा र पाटेबाघको विशेष रुपमा अवलोकन गर्न सकिन्छ भने हात्ती, भालु, चितुवा, हरिण, मृगलगायतका वन्यजन्तु समेत देख्न सकिन्छ ।
वरिपरि डाँडाले घेरेको उपत्यकाजस्तो भूमि तराई क्षेत्रमा नपाइने भए तापनि पर्साको ठोरी गाविस यसको अपवादमा देखिन्छ । यो मात्रै एउटा गाविस हो जुन तराई क्षेत्रमै वरिपरि डाँडाले घेरिएको उपत्यका जस्तै छ । वरिपरि नै डाँडाले घेरेका कारण ठोरी भएर बग्ने खोला पनि एकै स्थानबाट मात्रै भारत प्रवेश गर्ने गर्छन् ।
शोमेश्वर डाँडाले दक्षिणबाट भारतीय सीमा छुट्याएकाले सोही डाँडा छुट्टिएको स्थान गाविसको टाउन प्लान क्षेत्रबाट मात्रै नेपालका खोलानाला भारतीय भूमि भिखना ठोरी हुँदै भारत भित्रिने गर्छन् । ठोरीको वडा नम्बर १ मा कृष्णमन्दिर, ३ मा दुर्गामन्दिर र विक्रमबाबा, ७ मा वनशक्ति माताको मन्दिर रहेको छ ।
यसैगरी गाविसको वडा नम्बर २ मा निकै अग्लो पहाड रहेको छ, जसलाई सिनै पर्वत पनि भन्ने गरिएको छ । जुन स्वयम् भ्युटावर जस्तै अग्लो रहेको त्यहाँ पुगेर फर्कनेको अनुभव रहेको छ । त्यहाँबाट गाविसको पूरै बस्ती र भारतको भिखना ठोरी, नरकटियागन्ज, गौनाहा लगायतको बस्ती देखिनुका साथै मकवानपुरको मनहरीसम्मका बस्ती अवलोकन गर्न सकिने स्थानीय पत्रकार प्रेम लामाको अनुभव रहेको छ ।
यसैगरी गाविसमा स्थानीय बासिन्दाकै एकल प्रयासबाट लघुजलविद्युत् उत्पादन गरिएको छ भने चारवटा पानी मिलसमेत सञ्चालन गरिँदै आएको छ । लघुजलविद्युत्बाट उत्पादन गरिएको विद्युत् गाविस–६, ७ र ८ का केही बासिन्दाले अहिले उपभोग गर्दै आइरहेका छन् भने अन्य वडामा समेत पु¥याइने योजनासमेत रहेको छ । सहरबजारमा बस्ने जनताले विद्युत्भार कटौतीको मार खेपिरहेका बेला ठोरीका बासिन्दा भने लघुजलविद्युत्बाट उत्पादित बिजुली प्रयोग गरी विद्युत्भार कटौती मुक्त बनेका छन् ।
विद्युत् नपुगेका गाविसका अन्य वडाका अधिकांश बासिन्दाले सौर्य ऊर्जा (सोलार)को उपभोग गरी विद्युत्भार कटौतीको मारबाट बचेका छन् । हरियाली वातावरण शीतल हावा र चराचुरुङ्गीको चिरविराहटले मनै लोभ्याउने पर्साको एक मात्रै प्राकृतिक दृष्टिकोणले धनी, गाविस ठोरीलाई जिल्लामै पर्यटकीय गन्तव्यको मुख्य क्षेत्र बनाउने पहल भने अझै हुन सकेको छैन ।
ठोरीमा रहेको प्राकृतिक दृश्य अवलोकन र भ्रमण गर्न अहिले पनि भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् । प्रचारप्रसारबिना नै अहिले दैनिक सयौँको सङ्ख्यामा भारतीय पर्यटक आइरहेका छन् भने आन्तरिक पर्यटक पनि आउने गरेको स्थानीय सुरेश पन्तले बताउनुभयो ।
आवश्यक योजना बनाएर ठोरीलाई पर्यटकीय गन्तव्यको क्षेत्र बनाउनसके स्थानीय बासिन्दाको आम्दानीको स्रोत बढ्नुका साथै जीवनशैली नै परिवर्तन भएर ठोरीको नाम अझै सबैतिर प्रचार हुने पन्तको भनाइ छ ।
मुलुकका विभिन्न ठाउमा व्यापारिक केन्द्र नरहेका कतिपय स्थानमा पर्यटकीय व्यवसायले मात्रै पनि त्यस क्षेत्रको कायापलट गरेको सन्दर्भमा ठोरी एक पर्यटकीय क्षेत्र रहेको र मुलुककै व्यापारिक केन्द्र जिल्लामा रहेको यस परिस्थितिमा ठोरीले चाहेमा चाँडै नै फड्को मारी विकासको चरमोत्कर्षमा पुग्न सक्ने सम्भावना व्यापक रहेको छ । तर ठोरीलाई पर्यटकीय गन्तव्य बनाउन ठोरीमा क्रियाशील राजनीतिक दलका नेतृत्वकर्ताहरुको भूमिका सक्रिय हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
यसैगरी ठोरी गाविस–७ मा अहिले लौहपुरुष गणेशमान सिंह श्रेष्ठको सालिक बनाइँदैछ भने दुईवटा झोलुङ्गे पनि ठोरीमा बनेको छ । वडा नम्बर ७ मा नै पर्यटन मन्त्रालयले रु. पाँच लाखको लागतमा अमृत धारणालाई व्यवस्थित बनाइदिएको छ । यिनै कारणले ठोरीमा पछिल्ला दिनमा पर्यटक बढेको स्थानीय शिक्षक प्रेम लामाले बताउनुभयो । रासस
















प्रतिक्रिया