काठमाडौं, १९ साउन । शनिबार सिन्धुपाल्चोकको मांखा गाविसस्थित जुरे भन्ने स्थानमा गएको पहिराका कारण हराइरहेकामध्ये थप २३ जनाको शव भेटिएको छ । योसँगै मर्नेको संख्या अब ३२ पुगेको छ ।
अझै करिब डेढ सय मानिस बेपत्ता रहेकाले शव उत्खनन कार्य जारी छ ।
पहिरोमा मांखा गाविसमा ४४ घर पुरिएको, १२ घर उच्च जोखिममा रहेको, राम्चे गाविसमा छ घर पुरिएको, १८ घर डुबानमा परेको, ३८ घर उच्च जोखिममा रहेको, टेकनपुरमा १९ घर भत्किएको तथा धुस्कुनमा आठ घर, एक विद्यालय तथा दुई विद्युत् गृह (सानिमा र सुनकोस)ि प्रभावित भएको जनाइएको छ ।
घटनाका सम्बन्धमा उपप्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा सुरक्षा निकाय तथा विभिन्न मन्त्रालयका पदाधिकारीसहित बसेको बैठकले जुरेमा थुप्रिएको पहिरो हटाउन र पानीको सतहलाई चाँडोभन्दा चाँडो घटाई पूर्ववत् अवस्थामा पु¥याउन नेपाली सेनाको नेतृत्वमा सम्बन्धित विज्ञ तथा सरोकार भएकासमेत सम्मिलित टोलीले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै अबरुद्ध अरनिको राजमार्ग पनि छिट्टै खुलाउने कोसिस भइरहेको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट नेपाली सेना तथा सरोकार भएका निकायसँग समन्वय गरी आवश्यकताअनुसार अस्थायी पुल निर्माण र वैकल्पिक बाटो खोली यथाशीघ्र आवागमन सुचारु गराउने निर्णय भएको बताइएको छ ।
क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माण तथा सेवा सुचारु गर्न यातायात, ऊर्जा, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, सूचना तथा सञ्चार र कृषि विकास मन्त्रालयबाट स्थलगत निरीक्षण गरी आआफ्नो विषयगत क्षेत्रको विस्तृत डिजाइन र लागत अनुमानसहित योजना तयार गरी निर्णय गराई कार्यान्वयन गर्ने गराउने निर्णय पनि भएको छ ।
यसैगरी हालै सञ्चालित एसएलसी तथा क्याम्पसस्तरका परीक्षा प्रभावित हुन सक्ने देखिएकाले शिक्षा मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।
काभ्रेमा प्राविधिक टोलीसहित अध्ययन
यता, काभ्रेपलाञ्चोक जिल्लाको सुनकोसी नदी आसपासको गाविसमा स्थानीय प्रशासनले प्राविधिक टोलीसहित स्थलगत अध्ययन गरेको छ ।
काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीको नेतृत्वमा गएको प्राविधिकसहितको टोलीले जिल्लाको मेच्छेपौवालगायत सुनकोसी आसपास दुई सय मि क्षेत्रमा सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि स्थानीय प्रशासनले जोखिमका गाविस भन्दै स्थलगत अध्ययन गरेको हो ।
अध्ययनबाट सुनकोसी नदीमा पानीको बहाव केही मात्रामा बढे पनि त्यसले मानवबस्तीमा क्षति नपु¥याउने देखिएको जिविस काभ्रेपलाञ्चोकका इन्जिनियर अच्युत अधिकारीले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक जिल्लाको माङ्खा गाविसमा सुनकोसी थुनिएर भीषण पहिरो खसेपछि जिल्लामा उच्च सर्तकता अपनाइएको छ । यसअघि सम्भावित जोखिमस्थलको पहिचान गरी सुनकोसी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले यहाँको नाग्रेगर्गर्चे गाविस हुँदै बग्ने चौँरीखोला आसापासका झन्डै १० घर टहरा बाढीले आज बगाएको जनाएको छ । त्यसबाट मानवीय क्षति भइनसकेको र घटनास्थल टाढा भएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब निरीक्षक टीका सापकोटाले जानकारी दिनुभयो ।
















प्रतिक्रिया