३० आश्विन २०८३, शुक्रबार

मोदीले दिए कोइरालालाई भारत भ्रमणको निम्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India's Prime Minister Modi shakes hands with his Nepalese counterpart Koirala before the start of their bilateral meeting in New Delhi

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री सुशील कोइरालालाई उचित समयमा भारतको भ्रमण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निमन्त्रणा गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाइ गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सम्मेलनमा आफू नेपाल आउने जानकारी गराउँदै प्रधानमन्त्री कोइरालालाई भारत भ्रमणको निम्ता गर्नुभएको हो ।

दुई देशबीच राजनीतिक तहमा वार्ता र संवादको प्रक्रिया सुरु भएको र १७ वर्षपछि छिमेकी राष्ट्रका कार्यकारी प्रमुखको नेपाल भ्रमणको नेपाल भ्रमणले आपसी सम्बन्ध नयाँ उचाइमा स्थापित भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो । विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले कर्मचारी तहमा मात्रै रहेको सम्बन्ध राजनीतिक तहमा विस्तार भएको र आगामी दिनमा सो सम्बन्ध अझ प्रगाढ हुने वातावरण बनेको स्पष्ट गर्नुभयो ।

दुई देशबीचमा रहेको आपसी अविश्वास भारतीय प्रधानमन्त्रीको मोदीले आइतबार संविधानसभा । व्यवस्थापिका–संसद्मा गर्नुभएको सम्बोधनले हटेको उहाँको कथन थियो ।

गौतमबुद्धको जन्मस्थलको विषयमा संसारभर रहेको गलत प्रचारसमेत प्रधानमन्त्री मोदीको सम्बोधनले प्रस्ट भएको बताउँदै परराष्ट्रमन्त्री पाण्डेले भन्नुभयो–‘‘ सबै अविश्वासका बादल सफाचट भएका छन्, आगामी दिनमा सम्बन्ध उन्नत तहमा विस्तार हुन्छ ।’’

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले मुलुकले के पायो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले १७ वर्षपछि भएको प्रधानमन्त्री तहको भ्रमणले दुवै देशबीचको राजनीतिक सम्बन्धमा नयाँ कोसेढुङ्गा थपेको बताउनुभयो । साथै उहाँले सदनमा गर्नुभएको सम्बोधनका क्रममा रु एक खर्ब सहुलियत ऋणको घोषणा र पशुपति क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि रु ४० करोड सहयोग पनि भ्रमणको उपलब्धि रहेको जानकारी दिनुभयो ।

लामो समयदेखि प्रक्रिया अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई एक वर्षभित्र प्राधिकरण गठन गर्ने विषयमा समझदारी जानकारी गराउँदै मन्त्री पाण्डेले सो सम्बन्धमा कागजातसमेत आदानप्रदान भएको बताउनुभयो ।

यस्तै विद्युत् खरिद सम्झौता(पिटिए) र परियोजना विकास सम्झौता(पिडिए)को विषयमा आवश्यक तयारी नपुगेकाले आगामी ४५ दिनभित्र सबै पक्षसँग छलफल गरी सहमतिमा पुग्ने विषयमा दुई प्रधानमन्त्रीले आवश्यक निर्देशन दिनुभएको छ ।

“हतारोमा काम गर्ने र फुर्सदमा पछुताउनुभन्दा सबै पक्षलाई मिलाएर दीर्घकालीन लाभका हिसाबले काम गर्नुपर्दछ भन्नेमा हामी दुवै पक्षको मतैक्य रह्यो, दुई मुलुकको आपसी विश्वासका आधारमा ती दुवै सम्झौता गरिनेछ ।” परराष्ट्रमन्त्री पाण्डेले भन्नुभयो ।

लामो समयदेखि विवादित रहँदै आएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरवलोकनका सम्बन्धमा प्रधानमन्त्री मोदीले नेपालको स्पष्ट धारणाको बारेमा जिज्ञासा राख्नुभएको मन्त्री पाण्डेले अवगत गराउनुभयो ।