३० आश्विन २०८३, शुक्रबार

पशुपतिनाथमा मोदीको रुद्राभिषेक, मोदीले दिए पाँच बर्षलाई पुग्ने चन्दन दान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-in-pashupati-4

काठमाडौँ, १९ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा आज बिहान करिब एक घण्टा समय लगाएर रुद्राभिषेक पूजाअर्चना गर्नुभएको छ ।

दुईदिने नेपालको औपचारिक भ्रमणको क्रममा यहाँ आइपुग्नुभएका प्रधानमन्त्रीले मोदीले विशेष पूजाको अवसरमा पञ्चामृत स्नानसमेत गर्नुभएको थियो ।

उहाँले असाध्यै धैर्य र शालिनापूर्वक सबै विधि पु¥याएर पूजाअर्चना गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री मोदीले पूजाको क्रममा पशुपतिनाथको दक्षिण दिशामा बसेर तीन पूजारीका साथ र मूलभट्टले पूजा लगाउनुभएको थियो ।

“उहाँले पूजाअर्चना गर्दा असाध्यै जान्ने मान्छेले गरेको जस्तो विधि पु¥याएर गर्नुभयो, थोरै मान्छेले मात्र सो तवरले पूजा गर्ने गर्छन् ।” प्रधानमन्त्री मोदीको पूजाअर्चनाको प्रत्यदर्शी डा टन्डनले रासससँग भन्नुभयो– “उहाँले आरतीसमेत असाध्यै विधि पु¥याएर गर्नुभयो ।”

पूजाअर्चनाको क्रममा प्रफुल्लित मुद्रामा रहनुभएका प्रधानमन्त्री मोदीले संक्षिप्त कुरा गर्दै नेपालमा आएर पशुपतिनाथको दर्शन गर्न पाएकोमा हर्षित भएको श्री टण्डनले जानकारी दिनुभयो ।

विशेष पूजाका क्रममा वेद विद्याश्रम वनकालीमा अध्ययनरत १०८ बटुकले स्वस्तिवाचन गर्नुभएको थियो भने आश्रमकै शिक्षक माधव ढङ्गेललगायतको समूहले रुद्री पाठ गर्नुभएको थियो ।

modi-pashupati

सो क्रममा प्रधानमन्त्री मोदीले भारतबाट ल्याइएको करिब रु तीन करोड मूल्य बराबरको दुई हजार ५०० केजी चन्दन कोषलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो परिमाणको चन्दनले पशुपतिनाथको श्रीयन्त्रको पूजा गर्न आगामी पाँच वर्षसम्मलाई पुग्ने सदस्यसचिव टन्डनले बताउनुभयो ।

हिन्दु धर्मालम्बीका लागि साउने सोमबारका अवसरमा पशुपतिनाथमा गरिने पूजाअर्चनालाई विशेष मानिन्छ ।

प्रधानमन्त्री मोदीको सवारीलाई सहज बनाउन पशुपतिनाथ मन्दिर परिसरमा बिहान ८ बजेदेखि नै सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको थियो भने उहाँले ९ः३० देखि १०ः३० सम्म विशेष पूजाअर्चना गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदीले नेपाल आउनु पूर्व नै साउने सोमबार पशुपति मन्दिरमा पूजा गर्न पाउने अवसरलाई आफ्नो भाग्य भएको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो ।

विशेष पूजाका लागि उहाँ पशुपति क्षेत्रमा प्रवेश गर्दा स्थानीय नेवारी धिमे बाजा र भक्तजनको तालीले स्वागत गरेका थिए । यस्तै पञ्चेबाजा बजाएर वातावरणलाई थप रौनक बनाइएको थियो ।

प्रधानमन्त्री मोदीको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य उहाँको आगमनअघि नै पशुपति क्षेत्रमा पुगेर तयारीको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी सवारी मन्त्रीका रुपमा तोकिनुभएका सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल प्रधानमन्त्री मोदीका साथ मन्दिर आइपुग्नुभएको थियो ।

प्रधानमन्त्री मोदीले यसअघि नै पशुपति क्षेत्र परिसरको संरक्षण र सम्वद्र्धनका लागि रु ४० करोड सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ ।

साथै, सो क्षेत्रमा रु ३५ करोडभन्दा बढी लागतमा छिट्टै १०० कोठाको धर्मशाला निर्माण गर्ने वचनबद्धता यसअघि नै भारत सरकारले गरिसकेको कोषका पूर्व सदस्यसचिव सुशील नाहाटाले जानकारी दिनुभयो ।

भारतीय प्रम मोदीले पशुपतिनाथ मन्दिरमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै “हिमवत्खण्डको वाग्मती तटमा अवस्थित यस पशुपति नाथको दर्शन गर्न पाउँदा म धन्य भएको छु ।” हिन्दी भाषामा लेख्नुभएको छ ।

प्रधानमन्त्री मोदीको विशेष पूजाका लागि पशुपति मन्दिरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सरसफाइलाई विशेष ध्यान दिइएको थियो भने विभिन्न ध्वजा पताका र फूलमालाले सिङ्गारिएको थियो ।

आइतबार मात्रै संविधानसभा व्यस्थापिका–संसद्मा सम्बोधन गर्दै उहाँले पशुपतिनाथ क्षेत्रको प्रचार–प्रसार गरेर नेपालमा पर्यटनको विकासका लागि अपार सम्भावना रहेको बताउनुभएको थियो । रासस