सिन्धुपाल्चोक, १८ साउन । सिन्धुपाल्चोकको जुरेमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले अहिलेसम्म पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या दश पुगेको जानकारी दिनुभयो । आइतबार थप एक जानको शव फेलापरेपछि मृत्यु हुनेको संख्या दश पुगेको हो । उहाँले अहिलेसम्म १५५ जना बेपत्ता भएको र पहिरोबाट घाइते भएका २७ जनाको उद्धार गरिएको उल्लेख गर्नुभयो ।
प्रजिअ पराजुलीले अहिलेसम्म सम्पर्कमा आएका ६५ जना विस्थापित भएका र उनीहरुलाई खान र बस्नका लागि प्रबन्ध गरिएको बताउनुभयो ।
थुप्रै सर्वसाधारण अहिले पनि आफ्ना आफन्तको खोजीमा भौंतारिरहेका छन् । त्यसैमध्येका एक सिन्धुपाल्चोकको माङ्खा–१ का ६३ वर्षीय टेकबहादुर तिमल्सिना खत्री आफन्तको शव फेला पर्ने आशमा भौतारिरहनुभएको छ । पहिरोमा ३० वर्षीया बुहारी मिठु र दुई नाती राजीव र रमित हराइरहेकोले उहाँ भौतारिँदै खोज्नका लागि हार गुहार गरिरहनुभएको हो ।
“घर यतै भएजस्तो लाग्छ, मकैको बोट यता छ र मैले लगाएको जस्ताको पाता यतै छ त्यसैले यहीँनेर पुरिएका हुन् सक्छन”–६३ वर्षीय खत्रीले गँहभरी आँशु लिँदै भन्नुभयो ।
पहिरोमा पुरिएर मर्नेको आफन्तको पीडामा रहेका ६३ वर्षीय खत्री प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्तै दर्जनौं आफ्ना आफन्त खोज्न पहिरोस्थलमा छन् । उहाँजस्तै रामबहादुर लामाले आफ्नो र भाइको १० जनाको परिवार पहिरोमा पुरिएको बताउनुभयो । “मेरो सर्वस्व गयो, अब हामी बाबु छोराबाहेक कोही छैनौ”–उहाँले रुदै भन्नुभयो, “म बाह्रविसेमा कामका लागि गएको थिएँ र छोरा काठमाडौँ भएकाले बाच्यौँ ।” आफ्नो पाँच र भाइको पाँच जनाको परिवार पहिरोमा पुरिएको उहाँले बताउनुभयो ।
सुनकोसी नदी थुनिएर गएको पहिरोले जुरे अहिले खण्डहरको रुपमा परिणत भएको छ । पीडितले भौतिक सामग्री अहिलेपनि पहिरोस्थलबाट ओसारिरहेका छन् भने सुरक्षाकर्मीले पहिरोमा पुरिएकाको खोजतलास गरिरहेको छ ।
पहिरोको कारण आसपासमा रहेका खाडीचौर, अधेरी, बलेफी, सुकुटे बजार सुनसान छन् भने अरनिको राजमार्ग अवरुद्ध भएको छ । जुरेमा शुक्रबार राति पहिरो गएको थियो ।
पीडितद्वारा उपचार नपाएको गुनासो
पहिरोमा परी घाइते भएका पीडितहरुले आफूहरुले उपचार नपाएको गुनासो गरेका छन ।
पहिरोमा परी घाइते भएका माङ्खा गाविसका २७ वर्षीय अमर श्रेष्ठले सरकारले पहिरोमा परेकालाई उद्धारमा ढिलाई गरेको र उद्धार गरिसकेपछि पनि उपचारका लागि ध्यान नदिएको गुनासो गरे ।
उद्धार गरेर बीएनबी अस्पतालमा पु¥याएर उपचार गर्न नपाउँदै टिचिङ अस्पतालमा उपचारका लागि ल्याए पनि टिचिङ्मा उपचारका लागि डाक्टरले वास्तै नगरेको दुःखेसो गर्दै भने “उपचार गर्न डाक्टरले वास्तै गरेनन्, उल्टै राति नै डिक्चार्ज गर्न खोजे ।” त्यहाँ उपचार नभएपछि सो पहिरोका तीन घाइते सिभिल अस्पताल बानेश्वरमा भर्ना भएका छन् ।
सरकारले सो पहिरोमा परी घाइते भएकाहरुको उपचार खर्च व्यहोर्ने भनिए पनि अस्पतालमा पैसा नहुँदा घाइतेहरुले उपचार गर्न पाएका छैनन ।
भोटेकोसी सानिमा हाइड्रो पावरका चालक अमरले पहिरोमा परेर टाउको र खुट्टामा लागेको गहिरो चोट देखाउँदै भने, “घाउबाट रगत बगेको बग्यै छ, सहन नसक्ने गरी छटपट्टी भाको छ तर डाक्टरले उपचार गरेनन ।” अमरको टाउमा लागेको चोटमा सरसफाई (ड्रेसिङ) गर्नुपर्ने र टाँका लगाउनुपर्ने तर टाउकोमा माटैमाटो देखिन्छ । हात खुट्टामा मात्र पट्टी बाँधिएको छ ।
दुई छोरा श्रीमतीसहित चार परिवार रहेको अमरको सबै परिवार पहिरोमा प¥यो । पहिरोमा परी आफ्नी ३० वर्षीय पत्नी निमु श्रेष्ठ र चार वर्षीय छोरा अभिशेख गुमाए अमरले । अमर र उहाँका ८ वर्षीया छोरा भने पहिरोबाट बच्न सफल भए ।
अमरको ३४ वर्षीय दिदी ऋतु श्रेष्ठ पनि सोही पहिरोमा परी घाइते हुनुभएको छ । उहाँको पनि उपचार सिभिल अस्पतालमा भइरहेको छ । उहाँको ढाडमा गम्भीर चोट लागेको छ । १६ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको बीएनबी अस्पताल, टिचिङ अस्पताल, सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोमा पर्दाको क्षण सुनाए अमरले
शनिबार राति २:३० देखि ३:०० बजेको थियो । आकाश गर्जिएर चट्टयाङ् परेको आवाज आयो । घर पुरै हल्लिए जस्तो लाग्यो । एकैछिनमा घर भत्किएर मेरो ढाडभरी भयो । संयोगले म घोप्टो परेर सुतेको रहेछु । बल गरेर ढाडमाथि थिचिएको माटो र काठपात हटाउने प्रयास गरे । तर मेरो खुट्टा निकै ठूलो ढुङ्गाले च्यापिएको थियो । त्यो तान्न सकिन । चिच्चाए, कराएँ । बचाउन भनेर गुहारेँ । त्यो आवाज सुनेर बेल्जीयमका टोनी नाम गरेका विदेशी छिमेकी घरमा बसेका थिए । उनले पाँच÷सात भारी जति ढुङ्गा, माटो हटाए ।
खुट्टाको ढुङ्गा धकेलेर निकालि दिए नत्र मेरो खुट्टा काटनुपर्ने हुन्थ्यो । त्यसपछि मैले हतार हतार आफ्नो परिवारको खोजी गरे । मेरो दायाँ खुट्टा पहिरोले थिचिए पनि बायाँ खुट्टाले ठूलो छोरालाई च्यापी राखेको थियो । उसलाई ठूलो चोट नलागोस् भनेर उसलाई निकाले । उसको पनि टाउको र खुट्टामा चोट लागेको छ । बाँचेको छ ठीक हुन्छ । अनि श्रीमती र कान्छो छोराको खोजी गरे । विदेशीले मलाई माटो पन्छाउन सहयोग गरे । श्रीमती र छोरा दुवै भेटियो । बोलाए, तर दुवै मरिसके छन् ।
चार वर्षको कान्छो छोरा । मसँग चलिरहन्थ्यो । खेलिरहन्थ्यो । मरेको भएपनि एक पटक अनुहार हेर । त्यसपछि त्यहाँ बस्न मन लागेन । मलाई दुःखमा छिमेकीले वास्ता गरेनन भनेर कराउँदै आसपासमा हेरे त्यसपछि पो थाहा भयो सबै गाउँ नै पहिरोले लगेछ । सबैलाई यस्तै पीडा भएछ भनेर चित्त बुझाएँ । छोरालाई बचाउनुपर्छ भन्ने लाग्यो । त्यसपछि पहिरोबाट विस्तारै निस्किने प्रयास गरे । जहाँ टेक्यो, त्यही भाँसिने, आँट गरेर बल्ल बल्ल पहिरो बाहिर निस्किएँ । बाहिर निस्कदा उज्यालो पनि भयो ।
















प्रतिक्रिया