तुलसीपुर (दाङ), १८ साउन । नगरपालिका स्थापना भएको लामो समय भएपनि तुलसीपुर नगरपालिकाले भने अनिवार्य रुपमा भवन निर्माण आचारसंहिता यस आर्थिक वर्षदेखि लागू गरेको छ ।
आचारसंहिता कडाइका साथ लागू गर्नका लागि नगरपालिकाले यहाँका विभिन्न दलका प्रतिनिधि उद्योगी व्यवसायी, नगरवासीसँग यसअघि नै छलफल गरिसकेको छ । सरकारले भवन निर्माण आचारसंहिताको निर्देशिका जारी गरेपछि नगरपालिकाले पनि भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि आचारसंहितालाई कडाइका साथ लागू गर्नेतर्फ प्रेरित गरेको हो ।
आफूखुसी मापदण्ड नपु¥याई घर निर्माण गर्दा भूकम्पीय जोखिम बढेको, जीउज्यानको पनि खतरा बढेको, आर्थिक लगानी पनि खेर जाने भन्दै सबै खतराबाट आम नागरिकलाई बचाउने उद्देश्यले भवन निर्माण आचारसंहिता अनिवार्य लागू गरिएको तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराज बेलवासेले जानकारी दिनुभयो ।
त्यसैगरी यस क्षेत्रका निर्माणकर्मी तथा डकर्मी व्यवसायीहरुलाई पनि केही दिन अगाडि भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि तालिम दिएको नगरपालिकाले जनाएको छ ।
तुलसीपुर नगरपालिकाभित्र झन्डै पाँच हजारको हाराहारीमा घरहरु रहेका छन् । जसमा तीन हजार ५०० ले नक्सापास गराएको र तीमध्ये १० प्रतिशत घरमात्र भूकम्प प्रतिरोधात्मक रहेको नगरपालिकाका इन्जिनियर पवनकुमार योगीले जानकारी दिनुभयो ।
यसअघि सामान्य मापदण्डलाई हेरी नक्सापास हुने गरेपनि अब भने भवन निर्माण आचारसंहितालाई कडाइका साथ लिने नगरपालिकाले जनाएको छ । “तुलसीपुरमा पुरानो संरचना धेरै छ, पछि निर्माण गरिएका भवनमा पनि निर्माण सामग्री राम्रो प्रयोग भए पनि घर बनाउने तरिका नजानेका कारण भवन भूकम्प प्रतिरोधात्मक नभएको इञ्जिनियर योगीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुरक्षित आवासका लागि पनि भवन निर्माण आचारसंहिता कडाइका साथ लागू गरिने छ । रासस
















प्रतिक्रिया