काठमाडौँ, १८ साउन । सिन्धुपाल्चोकको जुरेमा शनिबार गएको पहिरोका कारण सुनकोसी नदी थुनिएपछि सम्भावित विपत्ति न्यूनीकरणका लागि आज पनि बिहानैदेखि सुरक्षाकर्मीसहितको उद्धार टोली परिचालन गरिएको छ ।
शनिबार करिब १२ घण्टासम्म सुनकोसी नदी थुनिएपछि सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका विभिन्न गाविसका बस्तीको सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायलाई परिचालन गरिएको हो ।
सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीका अनुसार बिहानदेखि सुनकोसी नदीको बहावलाई बिस्तारै खुलाउने किसिमबाट काम भइरहेको छ ।
नदी थुनिएका कारण जोखिममा परेका क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको र घटनास्थलमा स्थलगत उद्धारको कार्य पनि सँगसँगै भइरहेको उहाँले जानकारी गराउनुभयो ।
स्थलगत अवलोकनबाट फर्कनुभएका सिन्धुपाल्चोक जिल्लाका सभासद् मोहनबहादुर बस्नेतका अनुसार हालसम्म उक्त घटनामा नौको मृत्यु, १६ गम्भीर घाइते र १०० जनाभन्दा बढी बेपत्ता भएका छन् ।
घटनास्थलमा लासहरू गन्हाउने अवस्था भएको र यसबाट रोगब्याधी फैलन सक्ने खतरा भएको छ ।
घटनापछि पीडितको उद्धारका लागि सरकारले हेलिकोप्टर उपलब्ध नगराएको गुनासो व्यक्त गर्दै आफू र स्थानीय समाजसेवी दिनेश श्रेष्ठको संयुक्त पहलमा हेलिकोप्टर उपलब्ध गराएर घाइतेहरूको उद्धार गरिएको जानकारी गराउँदै बस्नेतले सरकारले राहतको विस्तृत प्याकेज तत्काल ल्याउनुपर्ने माग गर्नुभयो ।
















प्रतिक्रिया