सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोले एक दर्जन भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।
अहिलेसम्म १३ जना मानिसको मृत्यु भएको सिन्धुपाल्चोकका सभासद् मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । थुप्रै मानिसहरु अहिले पनि बेपत्ता भएका कारण मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । सुरक्षा निकायले भने आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ । चार जनाको भने जीवितै उद्दार गरिएको छ ।
पहिरोबाट व्यापक जनधनको क्षति गर्ने खतरा देखिएपछि तत्काल समाधान दिन सिन्धुपाल्चोकका नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
एमालेका केन्द्रीय नेता अरुण नेपाल, शेरबहादुर तामांग, एमाओवादीका नेता अग्नी सापकोटा लगायतले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पहिरोबाट थुनिएको सुनकोशी खुलाउन गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग सहकार्य गरिरहेको एमाले नेता नेपालले जानकारी दिनुभयो । घाइतेको उद्दार गर्न, बस्ती खाली गर्न र बस्तीलाई सुरक्षित बनाउन प्रयत्न भइरहेको उहाँले जानकारी दिनुभयो ।
ताल एकदमै ठूलो भएकाले बाह्रबिसे बजार डुब्ने खतरा देखिएको उहाँले बताउनुभयो । ताल एकैपटक फुटे सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली लगायतका जिल्लाका नदी किनारका बासिन्दालाई पनि असर पार्न सक्ने उहाँले बताउनुभयो । नेता नेपालले सुरक्षित स्थानमा बस्न र नअत्तालिन सर्वसाधारणलाई अपिल गर्नुभयो ।
पहिरोमा परेर घाइते भएका विदेशीसहित ३७ जना घाइतेको उद्दार गरिएको छ । एक दर्जन घाइतेलाई काठमाडौं ल्याइएको छ, अन्यलाई पनि ल्याउने तयारी गरिएको छ । कति मानिस घाइते र बेपत्ता छन्, यकिन हुन सकेको छैन ।
















प्रतिक्रिया