१ कार्तिक २०८३, आइतबार

भीषण पहिरोले सुनकोसी थुनियो, ४ जनाको मृत्यु, लामोसाँघुदेखि दोलालघाटसम्म भागाभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi-pahiro

चौतारा, १७ साउन । सिन्धुपाल्चोकको धुस्कुन गाविस जुरे भन्ने ठाउँमा भीषण पहिरो जाँदा सुनकोसी नदीका बाँध आज बिहान ३ बजेबाट थुनिएको छ ।

पहिरोमा परी ज्यान गुमाएका चार जनाको शव भेटिएको छ भने १६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थानीय बासिन्दाका ४० घरमा क्षति पुगिसकेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।

नदी थुनिएर दुई सय मिटरभन्दा माथि आइसकेको अनुमान गरिएको छ । यसैगरी, पाँच किलोमिटर लामो ताल बनेको छ । ताललाई विस्फोटमार्फत खुलाउन नेपाली सेनाले प्रयास गरिरहेको छ । ताल एकैपटक खुलाइए बाँध भन्दा तलका बस्तीलाई असर पर्न सक्ने हुँदा सचेत हुन सार्वसाधारणलाई आह्वान गरिएको छ ।

पहिरो जाने क्रम अहिले पनि रोकिएको छैन । पहिरोका कारण थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् । घटनालगत्तै प्रहरीले माइकिङ गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिसकेको छ ।

पहिरोले बिजुलीको पोल ढलेका कारण विद्युत् सेवा तथा टेलिफोन सेवासमेत अवरुद्ध भएको छ ।

घटना भएको खबरलगत्तै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी नायब उपरीक्षक बोहोरा र नेपाली सेनाका प्रमुख सेनानी सुरेश कार्कीसहित सुरक्षाकर्मीको टोली जुरेमा पुगेको छ ।

अहिले सुनकोसीमा एकथोपा पनि पानी बगेको छैन भने स्थानीय बासिन्दा त्रासमा रहेको लामोसाँघुका वासुदेव कार्कीले बताउनुभयो ।