१ कार्तिक २०८३, आइतबार

यसरी भयो धर्मगुरु रिम्पोछेको अन्त्येष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rimpochheकाठमाडौं, १६ साउन । रानीवनस्थित स्यारभन गुम्बामा दिवङ्गत धर्मगुरु १४ औँ श्ह्यार कुनसिंग रिम्पोछेको अन्त्येष्टि गरिएको छ ।

भारतबाट आएका १७ औँ कर्मापासहितका बिशिष्ट धर्मगुरुको सहभागितामा तिब्बती बौद्ध परम्पराअनुसारका मृत्यु संस्कारका सम्पूर्ण पूजा विधि तथा पवित्र ग्रन्थका पाठ गर्दै उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि कार्यक्रममा लाखाँ भक्तजनको सहभागिता थियो ।

अहिलेको समय रिम्पोछेको मृतआत्मा अन्तर्भवमा अल्मलिरहेको विश्वासअनुसार प्राणिधानको पूजा गरिएको थियो । मृतआत्मा देवलोकमा नपुगेको र मनुष्यलोकमा पनि नपुगेको अवस्थालाई अन्र्तभव भनिन्छ ।

उनको पुनः मनुष्यलोकमा जन्म लिई सकल प्राणीको उद्धारका लागि कामना गर्दै विभिन्न बाजा बजाइएको थियो । महायानी परम्पराअन्तर्गत काग्युपा सम्प्रदायका विभिन्न धर्मगुरुको पदवीलाई समर्पा तथा कर्मपा भनिन्छ ।

उनको गत जेठ २८ गते जर्मनीमा हृदयाघातका कारण ६२ वर्षको उमेरमा मृत्यु भएपछि शवलाई मङ्गलबार मात्र सो स्थानमा ल्याइ अघिल्लो दिन सर्वसाधारणको दर्शन तथा आज विशेष पूजासहित अन्तिम संस्कारको व्यवस्था मिलाइएको थियो ।

चार तलामाथि विशेष किसिमको तर सानो स्तुपा बनाएर त्यसको नजिकै पार्थिव शरीर सजाइएको थियो । केही समयपछि सोही स्तुपाभित्र सो शरीरलाई राखी तिब्बती मन्त्रोञ्चारणसँगै जलाइयो ।

त्यहाँ आएका भक्तजनलाई गुरुका तस्विर तथा गुरुले जीवनमा प्रयोग गरेका चिवर स–साना टुक्रा पारी प्रसादको रूपमा बाँडिएको थियो । ती वस्तुलाई भक्तजनले घरमा राखेमा पूण्य सञ्चय हुने विश्वास छ ।

कार्यक्रममा १७ औँ कर्मपाले बुद्ध धर्म तथा बुद्ध शासनलाई चिरस्थायी बनाउन रिम्पोछेले गरेको योगदानको स्मरण गर्दै भक्तजनलाई धैर्य गर्न आग्रह गरे ।

कर्मपा तथा समर्पाको पदीय जिम्मेवारी बोकेका धर्मगुरुले एक अर्काको गद्दी आरोहण तथा अन्त्येष्टिमा अनिवार्य सहभागी भई विधि विधानका संस्कार गर्नुपर्ने हुन्छ । दिवङ्गत गुरुको अवतारका रूपमा १५ औँ समर्पाको घोषणा नहुँदासम्म उक्त गुम्बाको संरक्षणको जिम्मेवारी अब १७ औँ कर्मपाको काँधमा आएको बौद्ध ग्रन्थ अनुवादक एवम् विद्धान टीका शेर्पाले बताए ।

उनले अनादिकालदेखि नै नेपालमा हिन्दू तथा बौद्ध धर्मावलम्बीबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय तहमा बौद्ध शिक्षा तथा दर्शनलाई प्रवद्र्धन गरेका रिम्पोछेले नेपाल, भारत र भुटानलाई विशेष कर्मथलो बनाए र दिवङ्गत गुरुको इच्छाअनुसार अन्त्येष्टि सोही गुम्बामा गरिएको उल्लेख गरे ।

नेपालमा इसापूर्व ५६३ मा प्रादुर्भाव भएको बुद्ध धर्ममा समयसापेक्ष आएका वैचारिक परिवर्तनले सिर्जना गरेको महायानी परम्परा तथा त्यसअन्तर्गतका काग्युपा सम्प्रदायको अनुशासन तथा दार्शनिक र अभ्यासले आज विश्वलाई आकर्षित गरेको छ ।

धर्मावलम्बीले दिवङ्गत गुरु १४ औँ समर्पा भएको विश्वास गरी उहाँलाई अमिताभ बुद्धका रूपमा तथा १७ औँ कर्मपालाई लोकेश्वरका रूपमा विश्वास तथा सम्मान प्रकट गर्दछन् ।

रिम्पोछेको पार्थिव शरीरमा स्वदेशी तथा विभिन्न मुलुकका कुटनीतिक र सर्वसाधारण गरी करिब एकलाख ७० हजार भक्तजनले दर्शन गरेको गुम्बाले जनाएको छ ।