
काठमाडौं, १५ साउन । जापानका विद्यार्थीहरुले दुई बर्षसम्म सडकमा मागेर संकलन भएको रकमबाट नेपालका अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् ।
जापानको कोबेस्थित कोबे रिउकोकु जुनियर एण्ड सिनियर हाइस्कूलका विद्यार्थीहरुले नेपालको अनाथ बालबालिकाहरुका लागि सहयोग गर्न दुई बर्षसम्म हरेक महिनाको दुई दिन रकम संकलन गरेका हुन् ।
करिब ७ बर्ष अघि एसिया फ्रेण्डसिप नेटवर्कमार्फत नेपालको प्राथमिक विद्यालयहरुका शिक्षक–शिक्षिकाहरुलाई जापानीज शिक्षण विधिको तालिम दिन नेपाल आइपुगेका जापानीज प्रशिक्षक कुरियामा मासायुकीले नेपालको लोडसेडिङका बारे आफ्ना विद्यार्थीहरुलाई जानकारी गराएपछि रकम संकलन थालिएको थियो ।
नेपालको काठमाडौं, काभ्रे, पर्सा र कास्कीका दुई सय जना शिक्षक–शिक्षिकालाई प्रशिक्षण दिएका मासायुकीले काठमाडौंका विभिन्न बालआश्रमको पनि भ्रमण गरेका थिए ।
लोडसेडिङ समस्याका कारण अनाथ आश्रममा आश्रित बालबालिकाहरुले उज्यालोमै खान खाएर सुत्नुपर्ने, होमवर्क गर्न नसक्ने र पढ्न नभ्याउने समस्या प्रत्यक्ष देखेको बताएपछि उनका विद्यार्थीहरुको जुनियर भोलेन्टियर क्लबले जापानका सडकमा रकम संकलन अभियान सुरु गरेको थियो ।

दुई बर्षको अवधिमा संकलित चार लाख रुपैंयाबाट भक्तपुरस्थित नवयुवा बाल सुधार समाजलाई सोलार हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका मासायुकी र एसिया फ्रेन्डसिप नेटवर्कका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाले बालआश्रममै पुगेर सौर्य बिजुली हस्तान्तरण गरेका हुन् ।
नेपालका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्न पाउँदा आफू र आफ्ना विद्यार्थी खुसी भएको मासायुकीले बताए । नेपाल र जापानका विद्यालयबीच मैत्री सम्बन्ध कायम गरी बिद्यार्थी र शिक्षक आदानप्रदान गर्ने उद्देश्यका साथ अहिले आफू नेपाल भ्रमणमा रहेको उनले जानकारी दिए ।















प्रतिक्रिया