रत्ननगर (चितवन), १४ साउन । लागुऔषध कारोवारमा सुरक्षाकर्मीसमेत संलग्न हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार गएको एक वर्षमा मात्रै पाँच जना सुरक्षाकर्मी लागुऔषध कारोबारमा संलग्न रहेको पाइएको हो ।
पाँचमध्ये तीन नेपाली सेना र दुईजना नेपाल प्रहरीका रहेको चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिनुभयो । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
कारोवारीमा यातायात व्यवसायी, व्यापारीसमेतको संलग्नता पाइएकाले अवैध ओसारपसार, कारोवार तथा सेवनकर्तामा कडा निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीको सक्रियताकै कारण यहाँ लागुऔषध कारोवारीमा संलग्न व्यक्ति अघिल्लो वर्षको तुलनामा निक्कै बढी पक्राउ गरिएको कार्कीले जानकारी दिनुभयो ।
चितवन लागुऔषध ओसारपसारको मुख्य बिन्दुसमेत बन्दै आएको छ ।
आव २०६९÷७० मा कुल ६४ जना पक्राउ गरिएकामा ३८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । आव २०७०÷७१ मा सो सङ्ख्या बढेर १०२ जना पुगेको र ५४ जनाविरुद्ध मुद्दा चलाइएको तथा ३०० सेवनकर्तालाई परिवारको जिम्मा लगाइएको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष लागुऔषध डाइजोपाम ६२५ एम्पुल बरामद भएकोमा गएको वर्ष एक हजार ८६८ एम्पुल बरामद गरिएको तथा ब्रुफिनोर्फिन ८१४ एम्पुल बरामद गरिएकामा गतवर्ष दुई हजार ४७ एम्पुल बरामद गरिएको कार्कीको भनाई थियो ।
अन्य लागूऔषध पनि तुलनात्मक रुपमा आव २०६९÷७० भन्दा गतवर्ष निकै ठूलो परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ । गतवर्ष प्रहरीले फेनारगन एक हजार १०० उम्पुल, खैरोहेरोइन साँढे आठ ग्राम, गाँजा ३३४ किलो, चरेर ३० किलो, गाँजाबाट बनेको धुलो १४० किलो तथा नाइट्रोजेपाम एक हजार १० ट्याबलेट बरामद गरेको जनाएको छ ।
यस्तै प्रहरीले गएको वर्ष जिल्लाको विभिन्न स्थानबाट ४० हजार लिटर अवैध घरेलु मदिरासमेत बरामद गरी नष्ट गरेको जनाइएको छ ।















प्रतिक्रिया