३० आश्विन २०८३, शुक्रबार

लेनदेन होइन, स्वतन्त्रता कायम हुने गरी भारतसँग सम्झौता गरौँः विज्ञहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nep_bharat flag(4)

काठमाडौँ, १४ साउन । विभिन्न विभिन्न राजनीतिक दलका नेता, पूर्व परराष्ट्र मन्त्री एवम् परराष्ट्रविद्हरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुवै देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा नयाँ उचाईमा पु¥याउन फलदायी र उपलब्धीमूलक हुने विश्वास व्यक्त गरेका छन् ।

रिपोटर्स क्लबले बुधवार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । लेनदेनभन्दा पनि आपसी सम्बन्ध र विश्वासका आधारमा उच्च राजनीतिक तहमा सम्बन्ध सुदृढ बनाउँदै दुवै देशको आर्थिक समृद्धि र विकासका लागि भ्रमणलाई फलदायी बनाउनुपर्नेमा उनीहरुको जोड थियो ।

एमाओवादीका उपाध्यक्ष एवम् पूर्व ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीले राष्ट्रिय महत्व राख्ने विषयमा देशमा न्यूनतम सहमति जुटाउनुपर्ने बताउँनु भयो । निश्चित समयावधि तोकेर मध्यपहाडी लोकमार्ग वा हुलाकी मार्गको कुनै खण्ड निर्माण गर्ने, पूर्वाधार र ऊर्जाको क्षेत्रमा सहयोग गर्ने जस्ता कुरामा ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।

‘ऊर्जा व्यापार सम्झौता गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘ऊर्जा बिक्रीका लागि भारत मुख्य बजार भएपनि अन्य क्षेत्रमा समेत बिक्री गर्न सकिने ढङ्गले हाम्रो स्वतन्त्रता कायम हुने गरी सम्झौता हुनुपर्छ ।’

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले परम्परागत, बहुआयामिक र जनतादेखि जनतासम्मको दुई देशको सम्बन्धलाई नयाँ दृष्टिकोण र नयाँ उचाईका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । ‘नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर ऊर्जा सहमति गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘व्यापार घाटा घटाएर पूर्वाधार निर्माणसहितका शिक्षा, स्वास्थ्य, पर्यटनमा लगानी विस्तार गरिनुपछ ।’

एमालेका सचिव प्रदीप ज्ञवालीले दुई देशबीचको सम्बन्धमा केही समय यता राजनीतिभन्दा सुरक्षा, प्रशासनिक र अन्य निकाय हावी भएको चर्चा चल्ने गरेको बताउनुभयो । उहाँले लेनदेनभन्दा विशुद्ध उच्च राजनीतिक तहमा सम्बन्ध सुधार गरी दुई देशको सम्बन्धलाई नयाँ उचाईमा लानुपर्नेमा जोड दिनुभयो ।

‘भारतले नेपालमा अस्थिरता चाहेको छ भनेर आशङ्का, चिन्ता र जुन शङ्का गरिएको छ त्यसलाई हटाएर भारत नेपालमा स्थिरता, शान्ति र विकास चाहन्छ भन्ने विश्वास दिलाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

कांग्रेसका विदेश विभाग प्रमुख तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाले विकासको दृष्टिले एसिया उदाउँदो क्षेत्रको रुपमा रहेकाले यसलाई समेत दृष्टिगत गरी नेपाल र भारतबीचको सम्बन्धलाई दुवै देशको हित हुने गरी उपयोग गर्नुपर्ने बताउनुभयो ।

‘छिमेकीलाई विश्वास लिएर नेपालले आफ्नो राष्ट्रिय हित हुने गरी ऊर्जालगायत विकासका क्षेत्रमा काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनीले पानी बिजुली आधा–आधा हुने गरी आफू परराष्ट्र मन्त्री हुँदा सम्झौता भएको पञ्चेश्वर आयोजना अघि बढाउने तथा ऊर्जा व्यापारका लागि सन् १९९६ ताका भएको सहमतिलाई आधार बनाएर अघि बढ्न सकिने बताउनुभयो ।

पूर्व मन्त्री एवम् परराष्ट्रविद् डा. भेषबहादुर थापाले प्रशासनिक, राजनीतिक र कूटनीतिक तवरले नभइ छिमेकीलाई विश्वासमा लिएर अघि बढ्ने निर्णयको आधारमा भारतीय प्रधानमन्त्रीको सद्भावना भ्रमण हुन लागेकाले भन्दै राजनीतिक तहमा संवादका आधारमा सम्बन्ध बढाउनु पर्नेमा जोड दिनुभयो ।