१ कार्तिक २०८३, आइतबार

पश्चिमको पशुपतिनाथमा बोलबम यात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Butwal-Bolbom-yatra
भरत केसी

बुटवल, १२ साउन । रूपन्देहीको पर्रोहा परमेश्वर बोलबम धाममा हरेक वर्ष लाग्ने मेलामा जस्तै यस वर्ष पनि बोलबम यात्रा तथा श्रावणी मेलामा जल चढाउन र दर्शन गर्न आउनेको भिड लाग्ने गरेको छ ।

पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको सो धाममा रहेको स्वयं उत्पत्ति शिवज्योतिर्लिङ्गमा साउन महिनाभर जलार्पण गर्ने धार्मिक परम्परा छ ।

पश्चिमको पशुपतिनाथको नामले समेत पहिचान बनाएको सो धाममा हरेक वर्ष साउन महिनाभर नेपाल र भारतका लाखौँ लाख श्रद्धालु भक्तजनले जलार्पण गर्ने परम्परा छ ।धाममा नेपाल र भारतका विभिन्न नदीको पवित्र जल उठाई बोलबम मन्त्र जप्दै पैदल यात्रा गरी जलार्पण गर्ने गरिन्छ ।

कपिलवस्तुको लक्ष्मणघाट र रामघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्युठानको स्वर्गद्वारी, काठमाडौंँको सुन्दरीजल, पशुपतिनाथलगायत स्थानबाट जल उठाई पर्रोहा बोलबम मन्दिरमा ल्याएर अर्पण गर्नेको महिनाभर घुइँचो लाग्छ । यस्तै भारतका गङ्गा, जमुना, कासी, गया, हरिद्वारलगायत स्थानबाट पनि उल्लेख्य मात्रामा श्रद्धालु भक्तजनबाट पवित्र जल उठाई खाली खुट्टा पैदल यात्रा गरी यहाँस्थित शिवज्योतिर्लिङ्गमा जलार्पण गर्छन् ।

पहेंलो गेरुवा वस्त्र धारण गरी बोलबम यात्रा गर्दै यहाँस्थित शिव ज्योतिर्लिङ्गमा पवित्र जल अर्पण गरेमा पुण्य प्राप्ति हुने, बाढीपहिरो, नदीकटान, भूक्षाय जस्ता प्राकृतिक प्रकोप र वर्षायाममा लाग्ने विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने विश्वास रहेको धामका संरक्षक व्यासाचार्य पं किशोरकुमार गौतम बताउनुहुन्छ ।

धामलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्दै उहाँले यसको समुचित विकास गर्न सकेमा तीर्थयात्राका नाममा हरेक वर्ष भारततर्फ जाने लाखौँ भक्तजनको करोडौँ रकम रोक्न सकिने बताउनु्भयो ।

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको पर्रोहा क्षेत्र बौद्धकालीन पाँच सहरमध्ये एक रहेको प्राचीन ग्रन्थमा उल्लेख छ ।

यसको महत्वलाई प्रचारप्रसार गर्दै संरक्षण र विकासतर्फ सबैको ध्यान जानु जरुरी रहेको बोलबम धाम समितिकी सल्लाहकार सीता न्यौपाने बताउनुहुन्छ ।

नेपालमा सर्वप्रथम बोलबम जाने र जलार्पण गर्ने चलन रूपन्देहीको पर्रोहाबाट सुरु भएको हो । यसअघि भारतको बाबाधामा बोलबम जाने प्रचलन थियो ।  रासस