काठमाडौं, ७ साउन । एमालेको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी बनेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको राजनीतिक सक्रियता उत्तिकै कायम छ ।
नेता नेपालले बुधबार राजधानीमा आयोजित कार्यक्रममा एकीकृत नेकपा माओवादी हुम्ला जिल्ला समितिका सचिवालय सदस्य तथा पाका बामपन्थी नेता चन्द्रबहादुर शाहीलाई एमालेमा प्रवेश गराउनुभयो । मालिका मावि लादी, हुम्लाका पूर्व प्रधानाध्यापक समेत रहेका शाहीले विगत लामो समय एकीकृत नेकपा माओवादीमा विताउनु भएको थियो ।
नव प्रवेशी शाहीलाई बुधबार बानेश्वरमा आयोजित संक्षिप्त समारोहमा हुम्ला जिल्ला कमिटीका अध्यक्ष दल रावल सहितका नेताहरुको समुपस्थितिमा एमाले नेता तथा पूर्व प्रधानमन्त्री नेपालले उहाँलाई टिका लगाएर स्वागत गर्नुभएको थियो । पार्टी प्रवेशसँगै उहाँले एमाओवादीले देश र जनताको हितको पक्षमा काम गर्न नसक्ने कुरा उल्लेख गर्दै नेकपा एमालेबाट मात्र साँचो क्रान्ति र वास्तविक परिवर्तन सम्भव भएको कुरा उल्लेख गर्नुभयो ।
उक्त अवसरमा नेता नेपालले सही दृष्टिकोण सहित स–साना टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै जान सकेमा वामपन्थी आन्दोलन थप विश्वासिलो र प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो । साथै उहाँले बाटो विराएका र विभिन्न समूहमा रहेका अन्य बामपन्थी समूहहरुलाई समेत नेकपा एमालेको मूलधारमा समाहित हुन आब्हान गर्नुभयो ।
















प्रतिक्रिया