जाजरकोट, ५ साउन । जाजरकोटको लहाँ गाविस वडा नं ६ कालिमटीमा पहिरोबाट दुई घर पुरिएका छन् ।
अन्य सात घर उच्च जोखिममा रहेको प्रहरीले बताएको छ । पहिरोले लहाँ–८ कालिमटीका युवराज रावल र रामबहादुर पुनको घर पूर्ण रुपमा पुरेको छ ।
अन्य सात घर जोखिममा परेको भन्दै स्थानीयवासी सुरक्षित स्थानतर्फ लागेका छन् । पहिरोले घर जोखिममा पारेपछि गणेश विक, कर्णबहादुर ओली, वीरबहादुर खत्री, दीपबहादुर सुनार, शेरबहादुर ओली, जुगारीलाल सुनार र सीताराम सुनारलगायतका सात घरपरिवार विस्थापित भएको प्रहरीले बताएको छ ।
गएराति ७ बजे वर्षासँगै आएको पहिरोले यो घटना भएको डिएसपी चक्रबहादुर सिंहले बताउनुभयो । पुरिएका घरहरुबाट कुनै पनि सामग्री निकाल्न नपाएको पीडित युवराज रावलले बताउनुभयो ।
माथिबाट आएको पहिरोले ती दुई घरलाई बगाएर नलसिंह गाड नदीमा मिसाएका कारण कुनै पनि सामग्री निकाल्न नपाएको प्रहरीको भनाइ छ । रातिभरि पानी परेका कारण उद्धारमा समस्या आएको इलाका प्रहरी कार्यालय खगेनकोट दल्लीले बताएको छ । विस्थापितहरु पाल टाँगेर बसेका छन् । यो बस्ती नदीको किनारमा भएका कारण थप समस्या आएको छ ।
















प्रतिक्रिया