चितवन, ५ साउन । साउन महिनाको पहिलो सोमबार आजबाट बोलबम मेला सुरु भएको छ ।
चितवनको पवित्र तीर्थस्थल देवघाटधामलगायत विभिन्न शिवालयमा आजबाट बोलबम मेला सुरु भएको हो । आज साउनको पहिलो सोमबार भएकाले आइतबार साँझदेखि नै देवघाटधाममा भक्तजनको घुइँचो लागेको छ ।
मेला भर्न भारतबाट समेत भक्तजन आएको देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।
महिनाव्यापी हुने मेलाका लागि सुरक्षा व्यवस्था मिलाउनुका साथै स्नान गर्ने क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाएको उहाँले बताउनुभयो । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा रहेको देवघाटधाममा यो महिना लाखौँ धार्मिक पर्यटक आउने गर्दछन् । आज बिहानै हजारौँ भक्तले स्नान गरिसकेको र यो क्रम दिउँसोसम्म जारी रहने छन् ।
यस्तै चितवनको महाकालेश्वर मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, रत्ननगरलगायत क्षेत्रका शिवालयमा पनि सोमबारे मेला अर्थात् बोलबम मेला सुरु भएको छ । महाकालेश्वर शिव मन्दिरमा भने आजदेखि १० दिनसम्म शिवपुराण लगाउन सुरु भएको स्थानीय महेश्वरी थापाले जानकारी दिनुभयो ।
यो समयमा महिलाहरू हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास छ । मेलामा साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ ।
यसरी चढाउँदा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दछन् भने अविवाहिता महिलाले असल श्रीमान्को कामना गर्दा मनोकामना पूरा हुने विश्वास रहेको पुजारी माधव सापकोटाले बताउनुभयो । रासस
















प्रतिक्रिया