सिरहा, ५ साउन । मदिरा सेवन गरी झगडा गरेकालाई सम्झाउन पुगेका पत्रकार दिलीप सिंहलगायत पाँचजनामाथि आक्रमण भएको छ ।
आक्रमणमा परी पत्रकार सिंहसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेहरूमा ब्रह्मान गोर्छारी–९ का पत्रकार दिलीप सिंह, उमेश महतो, रामऔतार महतो, विद्यानन्द सिंह र हीरालाल महतो रहेका छन् । उनीहरूमाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
सिंह नयाँ पत्रिका दैनिकका सिरहा संवाददाता हुनुहुन्छ । उहाँको टाउको र पिठ्यूँमा खुकुरी प्रहार भएको छ । उहाँको अवस्था गम्भीर रहेकाले राति नै उपचारका लागि विराटनगर पठाइएको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो ।
प्रहरी निरीक्षक निरौलाको अनुसार “लहान बजारबाट चामल लिएर आफ्नो घर ब्रह्मान गोछारी गइरहेका पत्रकार सिंहका भाइ विद्यानन्द सिंहलाई लहान नगरपालिका–१ स्थित स्थानीय मुसहर समुदायका युवाले गालीगलौज गरी कुटपिट गर्दैगर्दा पत्रकार सिंहलगायत ती युवालाई सम्झाउन त्यहाँ पुगेका बेला खुकुरीले आक्रमण ग¥यो ।”
मदिरा सेवन गरी सडकमै होहल्ला गरिरहेका स्थानीय मुसहर समुदायका युवालाई पत्रकार सिंहका भाइ विद्यानन्दले सडकबाट साइड भई दिन आग्रह गर्दा गालीगलौज गर्दै कुटपिट गरेको उहाँले बताउनुभयो ।
खुकुरी प्रहार गरी घाइते बनाउने लहान नगरपालिका–१ का पाँच युवालाई वडा प्रहरी कार्यालय लहानले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय पवन सदाय, शिव सदाय, धर्म सदाय, इन्द्रजित सदाय र लक्ष्मण सदाय रहेका छन् ।
















प्रतिक्रिया