पोखरा, ४ साउन । कास्कीको अर्मला गाविसका ६५ किसान परिवारको सबै खेतबारी भास्सिएर भ्वाङ परेपछि उनीहरू सबै अहिले विचल्लीमा परेका छन् ।
गत मङ्सिरको ५ गतेदेखि जमिनमा ठूल्ठूला भ्वाङ पर्न थालेपछि नौ परिवार घरै छोड्न बाध्य भएका छन् ।
लोकबहादुर कार्की, कुम्भसिंह परियार, कुमार छन्त्याल, हिमलाल आचार्य, हमकुमारी भट्ट, दिनेश नेपाली, राधिका पौडेल, भूपेन्द्र पौडेल र सीता कार्कीको घर वरिपरि भ्वाङ परेपछि उनीहरू विस्थापित भएका छन् ।
आफ्नो घरमै भ्वाङ परेपछि घर छोडेर कोठा भाडामा लिएर बस्नुपरेको गुनासो पीडित राधिका पौडेलको छ । ‘दिउँसो गएर घर हेर्ने र रात परेपछि भाडामा लिएको कोठामा जाने गरेका छौँ,’ उनले भने ।
‘आफ्नो १५ रोपनी जमिन सबै भास्सिएर अहिले रोपो गाड्न पाइएको छैन,’ अर्का पीडित रामप्रसाद पराजुलीले दुखेसो पोखे । अघिल्लो वर्ष ४०\४५ मुरी धान फलाएकामा अहिले शून्य भएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।
गएको आठ महिनाबीच गाउँको ठाउँठाउँमा १०५ वटा भ्वाङ परेका छन् । छ मिटर चौडाइ र ६ देखि ८ मिटर गहिरा ती भ्वाङ अहिले ५०० रोपनी जमिनमा परेका छन् ।















प्रतिक्रिया