डडेल्धुरा, ४ साउन । अविरल वर्षापछि आएको बाढी गाउँ पसेपछि डडेल्धुराको भित्री मधेस क्षेत्रका दर्जनौँ गाउँ विस्थापित भएका छन् ।
महाकाली नदी तथा पन्तुरा र रङ्गुन खोलामा आएको बाढीका कारण जोगबुढाका सादनी, चन्दनी, तातोपानी, सिमलखेत, कुणा, छेला, ठन्नजाला, पटरेनी, शरकुणा, खैरजाला, सिसमजालालगायत गाउँका बासिन्दा विस्थापित भएका हुन् ।
वर्षाका कारण भित्री मधेस क्षेत्रमा जोखिम बढ्दै गएको र सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज गौतमले जानकारी दिए ।
लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह ६.१० मिटर माथि पुगेको एवम् पन्तुरा तथा रङ्गुन खोलामा भीषण बाढी आएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
आजै जिल्ला प्रशासनले जोखिमपूर्ण स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अपिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
सयौँ रोपनी खेतीयोग्य जमिन बाढीले कटान गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् । वर्षाका कारण जिल्लाका अन्य क्षेत्रमा पनि बाढी र पहिरोको जोखिम बढेको जनाइएको छ ।















प्रतिक्रिया