बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

ओलीले फरक व्यबहार नगर्ने, गुटबन्दी बिर्सन आग्रह

दैनिक नेपाल २०७१ साउन ३ गते ८:४३

kp-oli-final

काठमाडौ, ३ साउन । एमाले अध्यक्ष केपी ओलीले विगतका विवादका आधारमा पार्टीभित्र कसैसँग फरक व्यवहार नगर्ने बताएका छन् । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकलाई शुक्रबार पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले सबैका लागि योग्यताअनुरूप मर्यादापूर्वक काममा लाग्ने परिस्थिति निर्माण गर्ने प्रतिबद्धता जनाए ।

महाधिवेशनमा भएको गुटबन्दीबाट पार्टीको आन्तरिक एकता नखल्बलिने उनले प्रतिबद्धता जनाए । ‘महाधिवेशनपूर्वका बहस तथा विवादलाई बिर्सेर महाधिवेशनका सैद्धान्तिक, कार्यक्रमिक, नीतिगत तथा संगठनात्मक निर्णयका आधारमा सिंगो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘हिजोको बहस वा विवादका आधारमा कसैप्रति फरक व्यवहार नहुने, सबैका लागि योग्यताअनुरूप र मर्यादापूर्वक पार्टी काममा लाग्ने परिस्थिति निर्माण हुने छ ।’

पहिलो बैठकले तीन निर्णय गरेको छ । महासचिव ईश्वर पोखरेलका अनुसार महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधानलाई सम्पादन गरी केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गर्न कार्यदल गठन गरिएको छ ।

राजनीतिक प्रतिवेदन मिलाउन ओलीको संयोजकत्वमा उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, सदस्य शंकर पोखरेल र छविलाल विश्वकर्मा सदस्य रहेको कार्यदल बनाइएको छ । संगठनात्मक प्रस्ताव र विधान मिलाउन महासचिव पोखरेलको संयोजकत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिवद्वय योगेश भट्टराई र गोकर्ण बिष्ट, सदस्य वेदुराम भुसाल, विन्दा पाण्डे र अग्नि खरेल रहेको कार्यदल गठन गरिएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित