काठमाडौं, ३१ असार । देशका सबै क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रास छ । सरकारी कार्यालयमात्र होइन, निजी क्षेत्रमा समेत यतिबेला अख्तियारको त्रास छ । अख्तियारले कसैलाई छाड्दैन भन्ने त्रास सबैतिर फैलदै गएको छ ।
यही क्रममा अख्तियारकै एक पत्रका कारण गत महिना राजधानीमा एक सरकारी कर्मचारीले हाम फालेर आत्मत्या गरे । डिल्लीबजार मालपोतमा कार्यरत नायब सुब्बा शिवप्रसाद पोखरेलले आफू बस्दै आएको ठिमीस्थित घरको सात तलाबाट हाम फालेर गत महिना आत्महत्या गरेका हुन् ।
उनको सुसाइड नोटसमेत फेला परेको छ । जसमा हाकिमहरूले मोटो रकम घुस खाएर आफूलाई फसाएको कुरा उल्लेख छ । धनकुटा मालपोतका हाकिम सुरेश थपलिया र अनिरुद्र लुईटेलले आफूलाई फसाएको कुरा उल्लेख गरेका छन् । जसकारण यस यसप्रकरणले धेरै कर्मचारीको जागिर चट् हुने देखाएको छ ।
सुसाइड नोटमा उनले लेखेका छन्, ‘यो सम्पूर्ण दोष अनिरुद्र गौतम र सुरेश थपलियाले गराउन लगाएका हुन् । मलाई जर्बजस्ती फुकाई फलाई हप्काई काम गराएका हुन् । मेरो धैर्यको बाँध फुटेकोले कुनै उपाय नदेखि म यो पापी शरीर छाड्दैछु ।
यसमा कसैको हात छैन । घर, धरान छिमेकी, श्रीमती, कसैलाई दोष नलगाउनु, र म आफ्नो इच्छाले अब बाँच्नु उपाय छैन भनि हाम फालेको हुँ । मेरो बाबा बिदा । एक पछि एक ३/४ वटा काण्ड थेग्ने मेरो सामाथ्र्य छैन । छोरा छोरी कसैले पिर नगर्नु । अब मर्न ठिक छ । बाँच्नु चाहिँ पृथ्वीको भार नै हो भनि म यो त्याग गर्दैछु । जम्मा ३/४ वटा काममा फसाएर एक लाख रुपैयाँ तीन महिनापछि दिएर अपराधमा सरिक गराएका हुन् । सुरेश थपलियाले सबै स्टाफलाई फसाएको रहेछ । चिन्न सकिन । आजलाई अलबिदा ।’
यो घटनाको हाल महानगरीय प्रहरी वृत्त ठिमीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार आत्महत्या गर्नु दुई दिन अघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धनकुटा क्षेत्रीय कार्यालयले बयानका लागि पोखरेललाई पत्र काटेको थियो । उक्त पत्र र सुसाइड नोट छतमा छाडेर उनी हाम फालेका थिए । उनको सुसाइड नोटले धेरै कर्मचारीको जागिर जाने प्रहरी अधिकारीहरू बताउँछन् ।














प्रतिक्रिया