काठमाडौं, २९ असार । प्रेमिकासँग विछोड भएको झोकमा एक प्रहरी जवान आफैले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी जवान अनील तिवारीले आफैले दायाँ कन्चटमा गोली हानी आत्महत्या गरेका हुन्। आजको नेपाल समाचार पत्रमा खबर छ।
४ वर्षअघि कमलपोखरी बस्ने विटुसँग प्रेममा फसेको र पछि उनी अर्कै प्रेमीसँग हिँड्न थालेपछि प्रेमवियोगमा परी आत्महत्या गरेको प्रहरीले जनाएको छ। परिसरका एसएसपी रमेश खरेलको अति प्रिय रहेका प्रहरी जवान तिवारीले आफूले आत्महत्या गर्नु अघिल्लो दिन शुक्रबार आफ्नो आमा र दाजुलाई भेटेका थिए। पछि उनी मृत अवस्थामा फेला परेका थिए।
बालाजु बस्दै आएका उनी कति बजे कोठाबाट बाहिर गएको भन्ने बारे आफन्तलाई समेत जानकारी थिएन। हिजो शनिबार बिहान भ्याली कोल्ड स्टोर्स नजिक विष्णुमती खोला किनारमा बिहान पौने ७ बजे शव फेला परेको प्रहरीले जनाएको छ। कोल्ड स्टोरका मालिकले निज जवानको शव देखेका थिए। प्रहरीले निजकी प्रेमिका विटुलाई पक्राउ गरेको जनाएको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।
















प्रतिक्रिया