१ कार्तिक २०८३, आइतबार

सुर्खेतको खानीखोलामा सडक पुगेपछि गाउँलेद्वारा भोजभतेर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surkhet_district_Map

सुर्खेत, २९ असार । जिल्लाको रझेना र खानीखोला गाविसको सिमानामा रहेको दहमा सडक पुगेपछि स्थानीय नागरिकले बाजागाजासहित खुसियाली मनाएका छन् ।

दशरथपुर–नेटा हुँदै पहिलोपटक दहमा सडक पुगेपछि रझेना र खानीखोलाका नागरिकले खुसियाली मनाएको स्थानीय वीरबहादुर वलीले जानकारी दिनुभयो । सडक खन्दै डोजर दहमा पुगेपछि गाउँलेले खसी काटेर भोजभतेर गर्नुका साथै एकआपसमा खुसी साटासाट गरेको वलीको भनाइ छ ।

सुर्खेत क्षेत्र नं २ को उत्तरी क्षेत्रमा पर्ने गाविसहरूलाई जोड्ने रिङ्रोडका रूपमा लिइएको यो सडकले रातानाङ्ला–रमपोखरा–ढारखेत, जितेजुवा, दशरथपुर, नेटा हँुदै दह जोड्ने बताइएको छ । अब पूरै रिङ्रोड सडक जोड्नका लागि १० किलोमिटर सडक खन्न बाँकी रहेको डिभिजन सडक कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका सवइन्जिनियर तुलाराम शर्माले रिङ्रोडको ट्र्याक खोल्ने काम सकिनेबित्तिकै स्तरोन्नति गरिने जानकारी दिनुभयो ।

गाउँ विकास समिति, जिल्ला विकास समिति, सडक कार्यालय र स्थानीय नागरिकको श्रमदानबाट सडक निर्माण भइरहेको छ । चालु आर्थिक वर्षको रातो किताबमा रु छ लाख विनियोजन गरिए पनि संविधानसभाको निर्वाचनपछि रिङ्रोड निर्माणका लागि थप रु ७० लाख रकमान्तर गरिएको नेपाली काँग्रेस क्षेत्र नं २ सुर्खेतका क्षेत्रीय सभापति कमलराज रेग्मीले बताउनुभयो । उहाँले रिङ्रोड निर्माण भएपछि उत्तरमा पर्ने एक दर्जन गाउँ विकास समितिका जनताको जीवनस्तरमा उल्लेख्य परिवर्तन आउने दाबीसमेत गर्नुभयो ।

रेग्मीले काफलकोट हँुदै जितेजुवा जोड्ने सडक निर्माणसँगै स्तरोन्नतिका लागि पनि पहल गरिने जानकारी दिनुभयो । रिङ्रोड निर्माण भएपछि काफलकोट, रानीवास, रझेना, नेटा, पाम्का, अलवचिङ, मटेला, रतु, जर्बुटा, खानीखोला र दशरथपुर गाविसका जनतालाई आवागमनका साथै आफ्ना कृषिजन्य उत्पादन सजिलै बजारसम्म पु¥याउन सुविधा पुग्ने छ ।