काठमाडौँ, २८ असार । एमाओवादीको शनिवार बसेको स्थायी समिति बैठकले विभिन्न जिल्लामा देखिएको विवाद समाधान गर्न एक कार्यदल गठन गरेको छ । एमाओवादीले सचिव वर्षमान पुन अनन्तको संयोजकत्वमा देवेन्द्र पौडेल र विश्वभक्त दुलाल रहेको कार्यदल गठन गरेको हो ।
एमाओवादी भित्र पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराई पक्षबीच केन्द्रदेखि जिल्लासम्म विवाद देखिएको छ । मकवानपुर, सिन्धुली लगायतका जिल्लामा भट्टराई पक्षले समानान्तर कमिटि नै बनाउन थालेपछि विवाद झन बढेको थियो ।
त्यसैगरी पार्टीभित्र भइरहेको छलफल र बहसलाई सहज बनाउन अध्यक्ष प्रचण्डको नेतृत्वमा ६ सदस्यीय ‘वैचारिक बहस व्यवस्थापन समिति’ पनि एमाओवादीले बनाएको छ । समितिमा वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ प्रकाश, पोष्टबहादुर बोगटी, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी हुनुहुन्छ ।
श्रावण मसान्तसम्म पुरा गर्ने गरी जिल्ला स्तरको प्रशिक्षण कार्यक्रमहरु गर्ने, पार्टी विधान अनुसार संगठनात्मक कामलाई थप व्यवस्थित गर्न पार्टी नियमावली बनाउनेलगायतका निर्णय पनि बैठकले गरेको छ ।
















प्रतिक्रिया