काठमाडौं, २८ असार । नेकपा (एमाले) को नवौँ महाधिवेशनको निर्वाचनको मतगणना मध्यान्ह १२ बजेपछि सुरु हुने भएको छ ।
निर्वाचन आयोगका पदाधिकारी र उम्मेदवारको सल्लाहमा मध्यान्हबाट मतगणना गर्ने निर्णय गरिएको हो ।
मतगणना पहिला पदाधिकारीबाट प्रारम्भ गरिनेछ । शुक्रबार साढे ५ मा सुरु भएको मतदान आज बिहान पौने तीन बजे सकिएको थियो ।
मतगणना राष्ट्रिय सभागृह वा त्रिपुरेश्वरको दशरथ रङ्गशाला कुन स्थानमा गर्ने भन्ने विषयमा बिहान ११ बजे उम्मेदवार र आयोगबीचको छलफलपछि निधो गरिने छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार मतदानमा दुई हजार १ सय ५२ जना प्रतिनिधिले भाग लिएका थिए । कूल दुई हजार १७६ प्रतिनिधि रहेको एमालेमा २४ प्रतिनिधि अनुपस्थित देखिएका छन् । महाधिवेशन लम्बिएका कारण ती प्रतिनिधि आफ्नो गृह जिल्ला फर्केको बुझिएको छ ।
एक सय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले समूहगत प्रतिस्पर्धा गरेका थिए । यस्तै केन्द्रीय निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासान आयोगका पदाधिकारीको पनि निर्वाचन एकैसाथ गरिएको थियो ।
अध्यक्षमा नेपाल र ओलीबीच कडा प्रतिस्पर्धा देखिएको छ भने अन्य पदमा मिश्रित परिणाम आउने अनुमान गरिएको छ ।















प्रतिक्रिया