काठमाडौँ, २३ असार । नेकपा (एमाले) को राजनीतिमा सक्रिय महिला नेत्रीहरु आफ्नो श्रीमान् नेता भएकै कारण ओझेलमा परेका छन् ।
एमालेकाा महासचिव ईश्वर पोखरेलकी पत्नी मीरा ध्वंजुले २०३५/०३६ सालदेखि सक्रिय रुपमा राजनीति लाग्नुभए पनि आफ्ना पति नेता भएको कारण बारम्बार श्रीमान्का नाममा त्याग गर्नुप¥यो । उहाँ नौ दश कक्षामा हुँदा नै राजनीतिमा लागे पनि सक्रिय भने २०३५ सालदेखि हुनुभयो ।
एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नेत्री ध्वंजुले राजनीतिक आन्दोलनकै क्रममा एमाले वर्तमान महासचिव पोखरेलसँग विवाह भएपछि परिवार सम्हाल्दै, बालबच्चा हुर्काउँदै गर्दा राजनीतिमा धेरै समय दिन नसके पनि सकेसम्म क्रियाशील भइनै रहनुभयो ।
उहाँले भन्नुभयो, ‘अवसर पाउने बेलामा म ओझेलमा परेको छु ।’ आफ्नो मनको इच्छालाई वास्ता नगरी उहाँले समय परिस्थितिलाई बुझेर श्रीमान्लाई सघाइरहनुभएको छ ।
यसरी श्रीमान् राजनीतिज्ञ भएका कारण आफू राजनीतिबाट ओझेलमा पर्नुभएकी मीरा मात्र एक्ली हैन । एमाले सचिव शङ्कर पोखरेल पत्नी सुजिता शाक्य पनि त्यस्तै पीडामा हुनुहुन्छ । विसं २०३६ को विद्यार्थी आन्दोलनदेखि नै क्रियाशील हुनुभएका उहाँले अहिले अनेम सङ्घको सचिव भएर काम गरिरहनुभएको छ ।
उहाँको आठाँै महाधिवेशनमा पनि उठने तयारी थियो तर श्रीमान् सचिव उठ्न लागेपछि पार्टीको दबाबमा छाड्नुपर्यो । आठौँ महाधिवेशनलाई स्मरण गर्दै नेत्री शाक्यले भन्नुभयो, ‘बूढाबूढी दुवैलाई किन पद चाहिने भन्ने प्रश्न आयो, त्यसमा मैले छाड्नुपर्ने भयो, बारम्बार श्रीमान्का नाममा मैले कति पटक राजनीतिमा त्याग गर्ने ?’ धेरै पटक त्याग गरिसकेको हुनाले यसपालि उहाँ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ ।
त्यस्तै एमालेका अध्यक्ष झलनाथ खनालपत्नी रवि, वरिष्ठ नेता माधवकुमार नेपाल पत्नी गायत्री, एमाले संसदीय दलका नेता केपी शर्मा ओलीपत्नी राधिकालगायत नेत्रीहरु पति नेता भएकै कारण ओझेलमा पर्नुभएको छ ।
राजनीतिक आन्दोलनमा लागेका क्रियाशील महिला नेत्री सुलोचना मानन्धर, पूर्णशोभा चित्रकार, गौरा प्रसाईं, शान्ता मानवी पनि परिवार र सन्तानका लालनपालनमै व्यस्त भएर राजनीतिमा क्रियाशील हुन सक्नुभएको छैन ।
त्यसमा केही एमाले जोडीहरु भने घर, परिवार र बालबच्चालाई व्यवस्थापन गरेर दुवै राजनीतिमा क्रियाशील भएका पनि छन् । एमाले स्थायी कमिटी सदस्य तथा पार्टी अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोरापत्नी पोलिटब्युरो सदस्य तथा महाधिवेशनमा उपाध्यक्ष उम्मेदवार अष्टलक्ष्मी शाक्यले राजनीतिलाई निरन्तरता दिँदै अगाडि बढिरहनुभएको छ ।
२०२८ सालदेखि सबै त्यागेर उहाँ राजनीतिमा होमिनुभयो । दुवैजना राजनीतिमा लाग्दा उहाँलाई ठूलो चुनौती थियो । ‘रातदिन, भोक, प्यास केही नभनी राजनीतिक आन्दोलनमा लागिरहँे’ विगत स्मरण गर्दै उहाँले थप्नुभयो, ‘मलाई श्रीमान् र पार्टीको निरन्तर साथ र सहयोग चाहिँ भइरह्यो ।’
यस पटक महाधिवेशनमा ३३प्रतिशत प्रतिनिधि संलग्न नभए पनि विद्यादेवी भण्डारी, थममाया थापा, श्रीमाया थकाली जस्ता नेत्रीहरु पनि पदाधिकारी तथा केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । रासस














प्रतिक्रिया