
आजबाट नेकपा एमालेको नवौँ महाधिवशेन शुरु भएको छ । यो सँगै अहिले एक नेता वा समूले अर्का नेता वा समूहलाई विभिन्न खालका आरोप प्रत्यारोप लगाउँने श्रृखला पनि निरन्तर चलेको छ । यसलाई कसरी लिनु भएको छ ?
विगतका महाविधेशनमा पनि नेतृत्वमा को पुग्ने भन्ने खालका बहस हुने गर्थे । त्यसैले अहिले नेतृत्वमा को पुग्ने भनेर नै विभिन्न खालका बहस भइरहेका छन । त्यसलाई अन्यथा रुपमा लिनु हुँदैन भन्ने मेरो मान्यता छ । जहाँ विचारको वहस हुन्छ । त्यहाँ पक्ष–विपक्ष हुनु स्वाभाविक हो । माक्र्सवादी दर्शनले पनि जहाँ क्रिया हुन्छ त्यहाँ विपरित प्रतिक्रिया हुन्छ भन्ने मान्यता राख्छ । हामी जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेर हिँडेको व्यक्ति भएकाले पनि यस्ता बहसलाई सकारात्मक रुपमा लिनुपर्छ । तर, यस्ता बहस महाधिवेशनसम्म मात्र हुनुपर्छ । महाधिवेशनपछि यस्ता वहसमा अल्झिनु हुँदैन ।
तर, अहिले तल्लो तहका कार्यकर्ता पनि शीर्ष तहमै भएका यस्ता खालका आरोप–प्रत्यारोपबाट दिक्क बनेको गुनासो आएको छ नि ?
हामीले महाधिवशेनको हलबाट नेतृत्व चुनेर बाहिर निस्केपछि त्यही पार्टीमा बसेर काम गर्नुपर्ने हुन्छ । अन्य कुनै दल वा व्यक्तिले आएर नेकपा एमाले सञ्चालन गर्दैन । त्यसैले अहिले जुन ढङ्गले तल्लो तहसम्म नै नेतृत्वको विषयलाई लिएर विभिन्न खालका आरोप–प्रत्यारोप हुने गरेका छन् । ती अलिक बढी नै भए कि भन्ने लागेको छ । यसले सकारात्मक सन्देश दिदैँन भन्ने आम कार्यकर्ता र प्रतिनिधिले पनि गुनासो गरेका छन् । हामी यो वा त्यो जुन पक्षमा लागे पनि महाधिवेशन पछि सबै एकै ठाउँमा हुन्छौँ भन्ने सोच्नु जरुरी छ । हामी महाधिवशेन पछि पनि पार्टीलाई संवृद्ध बनाउँन एकै ठाउँमा नै रहन्ु पर्छ । पार्टीको भविश्य हामीसँग गाँसिएको हुन्छ । यो बुझ्न सक्ने हो भने यस्ता खालका अस्वथ्य गतिविधिमा कमी आउँने निश्चित छ ।
आगामी नेतृत्व कस्तो हुनुपर्छ ?
पार्टीलाई एकतावद्ध बनाएर लैजान सक्ने क्षमता राख्ने, समन्वयकारी भूमिका खेल्न सक्ने, राष्ट्र, पार्टी र कार्यकर्ताको संरक्षण गर्न सक्ने, गतिशील र संवृद्ध नेपालको परिकल्पना गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । हामीले अहिले मानार्थ अध्यक्ष चाहेका छैनौ । अध्यक्ष बनाउँने अनि अध्यक्ष बनाएपछि सबै कुरा अरुले गर्ने अध्यक्ष अहिलेको आवश्यकता होइन । हामीले कार्यार्थ अध्यक्ष खोजेका छौँ । क्रियाशील व्यक्ति नेतृत्वमा आएन भने एमाले संवृद्ध बन्दैन र अन्तमा एमाले विघटनतिर जान सक्छ । यसमा सबै होसियार हुन जरुरी छ । आम कार्यकर्ताको भावना पनि त्यही हो ।
मानार्थ अध्यक्ष भनेपछि तपाईको संकेत संसदीय दलका नेता केपी शर्मा ओलीतिर हो ?
त्यसो भनेर पनि बुझ्नु हुँदैन । केपी शर्मा ओली हाम्रो पार्टीको सम्माननीय नेता, लामो समय पार्टीमा योगदान गरेको व्यक्ति, पार्टी जीवनका लागि लामो समय जेलनेल भोगेको व्यक्ति पनि हो । मैले उहाँलाई उच्च सम्मान र आर्दशका रुपमा हेरेको छु । त्यसैले मैले उहाँप्रति संकेत गरेको भन्दा पनि सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको, पार्टीमा निरन्तर योगदान गरेको व्यक्ति वरिष्ठ नेता माधवकुमार नेपाललाई एक पटक नेतृत्व दिऔँ भन्न चाहेको हो ।
तपाई प्रेस चौतारी नेपालको पूर्व अध्यक्ष एवम् पार्टीमा लामो समयदेखि सक्रिय व्यक्ति हुनुहुन्छ । तपाईले यो महाधिवेशनमा केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने तयारी पनि गर्नु भएको छ । तपाईको उम्मेदवारी के–का लागि ?
मैले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा आफैले गरेको होइन । प्रेस चौतारीले निवर्तमान अध्यक्षका हैसियतमा मलाई समग्र प्रेस चौतारीको प्रतिनिधित्व गर्ने गरी उम्मेदवार बनाउँने निर्णय गरेको हो । त्यसैले यो उम्मेदवारीलाई मैले मेरो व्यक्तिगत चाहना भन्दा पनि प्रेस चौतारी नेपालको आवश्यकता ठानेको छु । मेरो उम्मेदवारी सिङ्गो सञ्चार माध्ययमको प्रतिनिधित्व एमाले केन्द्रीय कमिटिमा हुनुपर्छ भन्ने मान्यताका लागि हो । एमालेको केन्द्रीय कमिटिमा रहेर देश, जनता र सिङ्गो सञ्चार क्षेत्रको हक–हितमा काम गर्ने मेरो चाहना छ ।
पार्टीले लिएका नीति, विचारमा सञ्चार जगत पनि छ भन्ने सन्देश दिन र राज्य तहसम्म पु¥याउन मैले केन्द्रीय कमिटिमा वसेर काम गर्ने चाहना राखेको हो । आम प्रतिनिधिले मेरो यो चाहनालाई पुरा गर्नुहुन्छ भन्ने मैले ठानेको छु । मेरै नेतृत्वमा प्रेस चौतारी नेपाल रहेको बेला ६० वर्षको पत्रकार महासंघको इतिहासमा पहिलो पटक वामपन्थीको नेतृत्वमा पत्रकार महासंघ ल्याउँन सफल भएको थियो । त्यसैले म रहेको ठाउँमा प्रभावकारी भूमिका खेल्न सकिन्छ भनेर मैले उम्मेदवारी दिने निर्णय गरको हो ।













प्रतिक्रिया