काठमाडौं, १७ असार । नेकपा एमालेका यूवा नेता एवम माधव नेपाल समूहबाट सचिव पद्का उमेद्धवार योगेश भट्टराईले माधव नेपाललाई हराउन कुनै पनि ‘माइकालाल’ नजन्मेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लवले मंगलबार राजधानीमा गरेको कार्यक्रममा नेता भट्टराईले जनताको बहुदलीय जनबादको ब्याख्याता केपी ओली नभई माधवकुमार नेपाल भएको दावी समेत गर्नुभयो । ओलीलाई विचारै नभएको नेता भन्दै उहाँले ओलीले नेतृत्व लिए पार्टी भद्रगोल हुने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘विचार र नेतृत्वको तारतम्य नमिल्दा पार्टीमा समस्या आएको हो ।’
माधवकुमार नेपाल अहिलेसम्म अध्यक्ष नबनेकोले अध्यक्ष बन्न नसक्ने दावी गर्दै उहाँले अस्वस्थ्य प्रतिष्पर्धामा उत्रिएकाहरुले गर्ने गरेको आरोप लगाउनुभयो । भट्टराईले भन्नुभयो– ‘नेपालको उम्मेदवारी बैद्य हुँदैन भन्नेले विधान पल्टाएर हेर्नुप¥यो ।’
नेता भट्टराईले सर्वसम्मतिमा अध्यक्ष झलनाथ खनाल दोहोरिने सम्भावना पनि कायमै रहेको उल्लेख गर्दै सर्वसम्मति नभएको अवस्थामा खनालले पनि नेपाललाई नै समर्थन गर्ने दावी गर्नुभयो ।
नवौ महाधिवेशनले राजनीतिक विकासलाई भन्दा पनि सामाजिक–आर्थिक विकासमा जोड दिने भन्दै उहाँले नेकपा एमालेले अहिले आगामी ३५ वर्षे सपनाको खाँका तयार पार्ने बताउनुभयो ।
अर्का नेता एवम् केपी शर्मा ओली समूहका उपाध्यक्षका प्रत्यासी किरण गुरुङले जनताको बहुदलीय जनवादलाई जिवन्त बनाउने काम ओलीले गर्दै आएकोले अबको नेतृत्व पनि उहाँले नै गर्न पाउनु पर्ने बताउनुभयो । माधवकुमार नेपालप्रति लक्षित गर्दै उहाँले जवजको सिद्धान्त देखाउने दाँत मात्र नभएको टिप्पणी गर्नुभयो । नेता गुरुङले माधव नेपाल अब अध्यक्ष बन्ने कुनै नैतिक धरातल नै नभएको भन्दै संगठनलाई मार्गदर्शनका रुपमा विकास गर्न पनि अब नेपाल अभिभावकीय भूमिकामा बस्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टी भित्रको अहिलेको बहस पुस्तान्तरणको नभई नेतृत्व हस्तान्तरणको मात्र भएको भन्दै एकै जना ब्यक्ति लामो समयसम्म नेतृत्वमा बसेकोले नेतृत्वको हस्तान्तरण जरुरी भइसकेको बताउनुभयो ।














प्रतिक्रिया