२९ आश्विन २०८३, बिहिबार

माधव नेपालले जित्ने दिउँसै सपना नदेखे हुन्छ: गोकुल बाँस्कोटा, युवा नेता, नेकपा एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gokul-Baskota

एमालेको नवौँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम सम्पन्न भएको छ । प्रतिनिधि छनोटसँगै एमालेको नवौँ महाधिवशेनलाई कसरी आँकलन गर्नुभएको छ ?

महाधिवेशन मुख्य गरेर दुई ओटा कुराका लागि हुन्छ । पहिलो कुरा भनेको नीति हो । त्यहाँ नीति कार्यक्रम र सिद्धान्तका बारेमा छलफल हुन्छ । दोस्रो भनेको नेतृत्व छनोटको विषय हो । यसरी हेर्दा महाधिवेशन नीति र नेतृत्वको विषयमा केन्द्रीत हुन्छ । नेकपा एमालेको महाधिवेशन एमालेलाई मात्र ‘गाइड’ गर्ने गरी हुँदैन । एमालेको महाधिवेशन १२ औँ शताव्दीको नयाँ नेपाल आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा कस्तो बनाउने भन्नेमा पनि केन्द्रीत हुन्छ । लोकतन्त्रको संस्थागत सुदृढीकरण र मुलुकको सम्बृद्धिका विषयमा पनि केन्द्रीत हुने छ ।

प्रतिनिधि छनोटसँगै संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहले आ–आफ्नो पक्षमा दुइतिहाई मत रहको दाबी गरेका छन् । तपाईको बुझाइमा के–छ ?

म दुइतिहाइको सम्भावना देख्दिन । तर, निर्वाचनको मैदानमा उत्रिँदा विपक्षीलाई कमजोर र आफू बलियो देखाउन पनि यस्ता खालका तर्क आउने गर्छन् । मैले पत्रकारिता गरेर राजनीतिमा प्रवेश गरेको व्यक्ति भएकाले सत्य र तथ्यमा आधारित कुरा बोल्नुपर्ने हुन्छ । त्यसरी मैले सत्य र तथ्यमा आधारित भएर भन्दा केपी शर्मा ओलीको पक्षमा दुइ तिहाईको नजिक मत आउने निश्चित छ । प्रतिनिधि छनोटले पनि के देखाउँछ भने नेता ओलीको पक्षमा ६० देखि ६३ प्रतिशत मत आउँछ । वरिष्ठ नेता नेपाल अध्यक्ष पदमा लड्नु भयो भने उहाँले ३३ देखि ३७ प्रतिशत मल ल्याउनु हुन्छ ।

किन तपाईंहरुले ओलीलाई नै अध्यक्ष बनाउन खोजेको ?

अहिले म नेतृत्व हस्तान्तरणको पक्षमा छु । म मात्र होइन, अहिले छनोट भएर आएका ६० देखि ६३ प्रतिशत प्रतिनिधि पनि नेतृत्व हस्तान्तरणकै पक्षमा रहनु भएको छ । नेतृत्व हस्तान्तरण भनेको लोकतन्त्रको अधिकतम नमुना पनि हो । व्यक्ति जतिसुकै सक्षम भए पनि खास समयमा नेतृत्व हस्तान्तरण गर्नै पर्ने हुन्छ । नयाँपुस्तालाई नेतृत्व दिनका लागि पनि नेतृत्व हस्तान्तरण आवश्यक छ । नेतृत्व घट्ट घुमेजस्तो घुमिरहने हो भने त्यहाँ सुस्तता, गतिहीनता र अकर्मण्यता देखिन्छ । त्यसले पार्टीलाई गति पनि दिन सक्दैन । त्यसैले वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व हस्तान्तरणको यस्तो अभियानमा भाँजो हाल्ने काम गर्नु गलत छ । यसले उहाँको हाइट घट्छ । त्यसैले उहाँले उम्मेदवारी नदिनु नै सबैभन्दा राम्रो हुन्छ । उहाँले प्रतिस्पर्धा गर्ने रहर गर्न सक्नुहुन्छ । तर, उहाँले जित्ने कुनै पनि सम्भावना छैन । नीतिका हिसावले नेता ओलीले वोकेको विचार अहिले पार्टीले बोकेर हिँडेको छ । अवसरका हिसावले भन्ने हो भने अहिलेसम्म पनि उहाँले पार्टीको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छैन । जनताको बहुदलीय जनवादलाई सम्वृद्ध गर्ने सन्दर्भमा होस या पार्टी भित्रको लोकतान्त्रिकरणको मुद्दा होस । यी दुवै नेता ओलीको विचार हो । त्यसैले आगामी नवौँ महाधिवेशनबाट आली एमाले अध्यक्ष बन्नुको अर्को विकल्प छैन । आठौँ महाधिवेशनको कुरा गर्ने हो भने उहाँले ल्याएको विचार पार्टी जीवनको लोकतान्त्रिकरणको मुद्दा स्थापित भयो । तर, उहाँ अध्यक्ष बन्न सक्नु भएन । त्यति मात्र होइन ओली झापा आन्दोलनको पनि नायक हो । १४ वर्ष वढी जेलमा वसेर पनि पार्टीलाई गति र उर्जा दिने कुरामा उहाँको कहिल्यै कमी आएको छैन । हरेक ठाउँमा माधवकुमार नेपाललाई सहयोग गर्ने मामिलामा ओलीले कहिल्यै कन्जुस्याई गर्नुभएको छैन । तर, त्यही भुमिका नेपालबाट हुन सकेको छैन । यसरी हरेक कुराबाट हेर्ने हो भने अध्यक्षका लागि नेपालभन्दा ओली धेरै उत्तम हुनुहुन्छ । त्यही भएर हामी अहिले पनि भनिरहेका छौँ । माधवकुमार नेपालले नेता ओलीलाई सहयोग गर्नुपर्छ । तर, उहाँको छाती कत्रो छ । त्यसमा भरपर्छ । उहाँको छाती भँगेराको जत्रो छ कि विशाल छ भन्ने कुरा पनि त्यसैले निर्धारण गर्छ । हामीले उहाँ पार्टीको प्रमुख र प्रधानमन्त्री भएको देखिसकेका छौँ । उहाँले पार्टीबाट लिन केही बाँकी छैन । त्यसैले उहाँले नेता ओलीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन भूमिका खेल्नु सबैभन्दा उपयुक्त विकल्प हो ।

तर, नेपाल समुहले ओलीलाई नेतृत्व दिँदा नेतृत्व हस्तान्तरण होइन, बुढा नेतामै नेतृत्व घुमिरहन्छ भन्ने तर्क गरेका छन् नि त ?

जुन व्यक्तिले तीन–तीन पटक पार्टीको नेतृत्व गरेका छन् । ती व्यक्तिले फेरि पनि मलाई नै नेतृत्व चाहियो भन्दै हिडेका छन् । उनैले नेतृत्व हस्तान्तरण होइन पुस्तास्तरणको गीत गाउँदै हिडेका छन् । यस्तो ¥याइ¥याईको कुनै तुक छैन । यस्तो ¥याइ¥याइ बन्द गर्नुपर्छ । यो २१औँ शताव्दी हो । पहिलाको जस्तो एक्लै डण्डा घुमाएर सत्ता चलाए जस्तो जमाना अहिले छैन् । आफूलाई देखाउँदा क्रान्तिकारी देखाउने र काम प्रतिगामी गर्ने कुराले हुँदैन ।

म उहाँलाई चुनौती दिन चाहन्छु । उहाँ शंकर पोखरेल कि घनश्याम भुसाल को अध्यक्ष भनेर प्रस्ताव ल्याउन सक्नुहुन्छ । म दाबाका साथ भन्छु, उहाँले त्यो प्रस्ताव ल्याउँने आँट गर्न सक्नु हुन्न । उहाँको कुराको कुनै ठेगान छैन । उहाँ अडान विनाको नेता हो । उग्रवामपन्थलाई सिध्याउन केपी ओली चाहिने । नेपाललाई पार्टी प्रमुख वा प्रधानमन्त्री बनाउन पनि ओली चाहिने । दक्षिणपन्थीहरुसँग लड्न पनि ओली नै चाहिने । तर, ओलीलाई अध्यक्ष बनाउन चाँही नहुने यो कुन तर्क हो ? यस्तो मनोरोगी मानसिकता यसपटक भत्किन्छ । यो आठौँ महाधिवेशन होइन । यो नवौँ महाधिवशेन हो । त्यसैले ओलीले हार्नुहुन्छ र नेपालले जित्नुहुन्छ भन्ने दिउँसै सपना कसैले पनि नदेखे हुन्छ ।

पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा मोदी लहर आयो भन्ने चर्चा नेपाल समूहले गरेका छन् । साँच्चै हो ?

नेता नेपाल आफै म पार्टी चलाउन सक्दिन भनेर राजिनामा दिएर भागेर हिँड्नु भएको हो । उहाँलाई कसैले पनि गलहत्याएको होइन । पछि केपी ओलीले नै उहाँलाई पार्टीमा टिकाएको हो । जहाँसम्म मोदी लहरको कुरा छ । अहिले एमालेको नवौँ महाधिवेशन भारतमा होइन, नेपालमा हुँदैछ । भारतीय जनता पार्टी जस्तो दक्षिणपन्थी पार्टीको चुनाव पनि यो होइन । एमाले जस्तो क्रान्तिकारी पार्टीको चुनाव हो यो । उहाँहरुले मोदी लहर आएको महसुस गर्नु भएछ । हामीले ओली लहर आएको अनुभूति गरेका छौँ ।

तपाईंको केन्द्रीय सदस्यको दाबी के–का लागि ?

मैले तीन पटक काभ्रे जिल्लाको पार्टीको नेतृत्व गरेको छु । मैले नेतृत्व गरेपछि काभ्रेको पार्टीलाई बलियो बनाएको छु । त्यो मैले व्याख्या गर्नु पर्दैन । मैले पार्टीमा गरेको योगदानको पनि कदर होस भनेर केन्द्रीय सदस्यको दाबी गरेको हो । मैले कसैको दया–मायामा दाबी गरेको होइन । पार्टीलाई गतिशील र सुदृढ बनाउनका लागि पनि केन्द्रीय सदस्यमा मेरो दाबी हो ।