विराटनगर, १४ असार । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई मोरङको इन्द्रपुरमा एक दलित कार्यकर्ताको घरमा बास बस्नुभएको छ ।
मोरङको गोठगाउँमा कार्यकर्ता प्रशिक्षणका लागि आउनुभएका नेता डा भट्टराई शुक्रबार कोसी हरैचा नगरपालिका–१ स्थित कुमार मिजार (सार्की) को घरमा बास बस्नुभएको हो । मिजार राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा एमाओदी मोरङ एसिएम हुनुहुन्छ । डा भट्टराईले मिजारकी श्रीमती तुलसाले पकाउनुभएको खाना र खाजा खानुभएको थियो ।
पूर्व प्रम भट्टराईसहित करिब दस जनालाई शुक्रबार साँझ बिहान दालभात तरकारी पकाएर खुवाएको कार्यकर्ता कुमार मिजारले बताउनुभयो ।
सामान्य आर्थिक अवस्थाका कार्यकर्ता मिजारले तुलसा थापासँग १४ वर्षपहिले अन्तर्जातीय विवाह गर्नुभएको थियो । बास बस्न पुग्नुभएका पूर्व प्रधानमन्त्री डा भट्टराईलाई श्रीमती थापाले समाजमा उचनीच र जातपातको भावना अझै गइनसकेकाले यसलाई हटाउन पहल गरिदिनका लागि अनुरोध गर्नुभएको थियो ।
डा भट्टराईसँग मिजारको घरमा एमाओवादी केन्द्रीय सदस्य कुमार पौडेल, हेमराज भण्डारी, स्वकीय सचिव विश्वदीपसहित तीन जना प्रहरी बास बसेको कार्यकर्ता मिजारले बताउनुभयो ।
यसैगरी सोही प्रशिक्षणका लागि आउनुभएका पूर्व प्रम तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल हरैचा– ३ स्थित व्यापारी नवराज चापागाईंको घरमा बास बस्नुभएको थियो ।
दुवै नेताहरु आज बिहान काठमाडौँ फर्कनुभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














प्रतिक्रिया