२९ आश्विन २०८३, बिहिबार

विहेको वर्षगाँठ पारेर एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । काठमाडौंको कमलादीस्थित एक रेष्टुरेष्टमा शनिबार विहानै केही पत्रकारहरुलाई आमन्त्रण गरिएको थियो । पत्रिका, टेलिभिजन र अनलाइनमा कार्यरत पत्रकारहरु रेडियो नेपालमा कार्यरत पत्रकार प्रमोद दाहालको निम्ता मान्न पुगेका थिए ।

पछि थाहा भयो, सन्दर्भ भयो एमाले महाधिवेशनको । र, सँगै जोडिएको थियो विहेको वर्षगाँठ पनि ।

प्रेस चौतारीका संस्थापक सचिव एवं वर्तमान सल्लाहकार प्रमोद दाहालले शनिवार १४ औं बर्षगाँठको अवसर पारेर एमालेको वैकल्पिक केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

‘सवल, सुदृढ र गतिशील एमालेले मात्र सबैखाले समस्या सही सम्बोधन गर्न सक्छ, सञ्चार क्षेत्रमा पनि ठूल्ठूला समस्या छन्, समाजलाई सही दिशा दिन सञ्चार क्षेत्रको ठूलो भूमिका रहन्छ ।, दाहालले उपस्थित पत्रकार माझ भने, ‘एमालेको नेतृत्वमा रहेर सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न उम्मेदवारी दिन लागेको हुँ ।’ विहेको वर्षगाँठ पारेर उम्मेदवारी घोषणा गरिएपनि दाहाल पत्नी विटुकञ्चन दाहाल भने उपस्थित थिइनन् ।

दाहालको उम्मेदवारी लगत्तै आधा दर्जन युवा नेताले पनि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरे ।

UML-Pramod-Dahal-Surya-Thapa-Upendra_KC
उम्मेदवारी घोषणा कार्यक्रममा दाहाल (बायाँबाट सबैभन्दा पहिलो)

उम्मेदवारी घोषणा गर्नेमा एमाले केन्द्रीय प्रचार विभागका सचिव सूर्य थापा, रामेछाप जिल्ला कमिटीका पूर्व अध्यक्ष कैलाश ढुंगेल, काभ्रे जिल्ला कमिटीका अध्यक्ष गोकुल बाँस्कोटा, अनेरास्ववियुका पूर्व अध्यक्षद्वय हिक्मत कार्की र खिमलाल भट्टराई तथा प्रेस चौतारीका मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसी लगायत छन् ।

रामेछापका नेता ढुंगेलले पार्टीमा नेतृत्व हस्तान्तरण र युवाको उचित प्रतिनिधित्व हुनुपर्ने बताए । अखिलका पूर्व अध्यक्ष कार्कीले पार्टीमा न्यायोचित जिम्मेवारी वितरणको आवाज उठाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।

प्रचार विभागका सचिव थापाले जोस र होस भएका दुवै पुस्ताको संयोजन पार्टीका लागि आवश्यक भएको धारणा राखे ।

युवा नेताले व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली समूहले आफ्नो सूचीमा समावेश गरेमा मात्रै उनीहरुको विजय निश्चित हुने देखिएको छ ।