बुटवल, १३ असार । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आउने हरेक व्यक्ति धर्म र दर्शनका विषयमा राम्रोसंँग ज्ञान हासिल गरेर फर्कून् भन्ने उद्देश्यले लुम्बिनीलाई नग्राम(नगर र गाउँ) बनाउन लागिएको छ ।
लुम्बिनी र त्यस वरपरिका ११ गाविसको समग्र विकासको योजनालाई समेटेर तयार पारिएको लुम्बिनीको विश्वशान्ति गुरुयोजना नग्राम आज लुम्बिनीमा सार्वजनिक हुँदा सहभागीइ स्थानीयवासी र सरोकार भएकाहरु खुसी भए । उक्त गुरु योजना निर्माणको जिम्मेवारी पाएका कोरियाली प्रा क्वाकले गुरुयोजनाका बारेमा विस्तृत रुपमा व्याख्या गर्नुभएको थियो ।
लुम्बिनीलाई संसारकै शान्त, सुन्दर र व्यवस्थित सहरका रुपमा विकास गर्न सरकारले सन् २०१२ मा कोरियाली सहयोग नियोग (कोइका) मार्फत प्रा क्वाकलाई सोको गुरुयोजना बनाउने जिम्मा दिएको थियो । सोही गुरुयोजनाको अन्तिम रुप आज बुद्ध जन्मस्थल लुम्बिनीमा सार्वजनिक गरिएको थियो ।
प्रा क्वाकले गुरुयोजनाको सम्पूर्ण काम पूरा गरेर नेपाल आएको बताउँदै गुरुयोजनाको कार्यान्वयनमा अब सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।
सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रा केन्जो टाँगेले बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्ने गरी क्वाकले शान्ति सहरको गुरुयोजना निर्माण गर्नुभएको छ । उहाँको गुरुयोजनाअनुसार लुम्बिनीको पाँच वर्गमाइल क्षेत्रमा शान्ति सहर र बाँकी १९ वर्गमाइल क्षेत्रलाई कृषि र पर्यटन क्षेत्रका रुपमा विकास गरिने छ । पांँच वर्गमाइल क्षेत्रभित्र लुम्बिनी वरिपरिका ११ गाविस समेटिएका छन् ।
कमलको फूलको आकारमा तयार भएको सो गुरुयोजनाले २४ वर्गमाइल क्षेत्रफललाई चार भागमा बाँडेको छ । हालको पवित्र क्षेत्रलाई बुद्ध क्षेत्र, हालको गुरुयोजना क्षेत्रलाई धर्म क्षेत्र, त्यसबाहिर पाँच वर्गमाइल क्षेत्रलाई सङ्घ क्षेत्र र बाँकी १९ वर्गमाइल क्षेत्रलाई उपासका, उपासिका क्षेत्रका रुपमा विभाजन गरिएको छ ।
सहर बाहिर उपासक क्षेत्रमा कृषि उत्पादनका लागि व्यावसायिक फाराम सञ्चालन गरेर कृषि पर्यटनको अवधारणा अघि सारिएको छ ।
शान्ति सहरमा एउटै आकारका घर, फराकिला सडक, १० मिनेटभित्र पुग्न सकिने स्कुल तथा स्वास्थ्य चौकी, सौर्य ऊर्जा, पानी, विद्युत्लगायत सुविधासहित सहरलाई प्रदूषणरहित बनाउने उपाय दिइएको छ ।
यसअघि प्रा क्वाकले बुधबार काठमाडौँमा नेपाल सरकारका उच्च अधिकारीका बीच सो गुरुयोजनाको अन्तिम रुप प्रस्तुत गर्नुभएको थियो क्वाकको गुरुयोजनाले लुम्बिनीमा दुई लाख पर्यटक अटाउन सक्ने गरी प्रत्येक घरमा घरबास अवधारणा अघि सारेको छ । तीन अर्ब अमेरिकी डलरमा शान्ति सहर सम्पन्न गर्न सकिने अनुमान गरिएको छ ।
प्रा टाँगेले तयार गरेको हालको गुरुयोजनालाई कुनै असर नपर्ने गरी बन्न लागेको गुरुयोजनाले स्थानीय बस्ती, जङ्गल, स्कुल, मठ, मन्दिर, मस्जिद तथा सडकलाई जस्ताको तस्तै राखेर शान्ति सहरका रुपमा विकास गर्ने लक्ष्य राखेको छ । “यसले सद्भावपूर्ण रुपमा समाजमा सबैले मिलेर बाँच्न पाउने वातावरण सिर्जना हुने छ’ –प्रा क्वाक भन्नुहुन्छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्बो शेर्पाले गुरुयोजना निर्माणकर्ता क्वाकले नै यसको कार्यान्वयनको अगुवाइ गर्दा यसले छिट्टै पूर्ण रुप लिने बताउनुभयो ।
लुम्बिनीमा लामो समयदेखि बौद्धधर्मको प्रचारप्रसारमा सक्रिय रहँदै आउनुभएका अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रीले गुरु योजनामा समेटिएका कार्यक्रम निकै राम्रा रहेको र यसको सही ढंगले कार्यान्वयन गर्ने हो भने लुम्बिनीको सुन्दरता बढ्ने बताउनुहुन्छ । उहाँले यसको कार्यान्वयनमास्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहल गर्न सरकारलाई सुझाव दिनुभयो । रासस














प्रतिक्रिया