३१ आश्विन २०८३, शनिबार

एमाले महाधिवेशनका लागि असार १५ बाट भृकुटीमण्डपमा सचिवालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351काठमाडौँ, १३ असार । नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनका लागि यही असार १५ गतेदेखि भृकुटीमण्डपमा सचिवालय स्थापना हुने भएको छ ।

अहिलेसम्म पार्टी कार्यालयबाटै सो सचिवालयले काम गर्दै आएकामा पार्टीको यही असार १९ देखि २५ गतेसम्म हुने महाधिवेशनको व्यवस्थापन तथा सहजताका लागि सचिवालय स्थानान्तरण गरेर आवश्यक कार्य गरिने छ ।

पार्टीको जनसङ्गठन तथा काठमाडौँ उपत्यकाबाट करिब २०० स्वयंसेवक परिचालन गरी महाधिवेशनलाई व्यवस्थित बनाइनेछ । महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि तथा विदेशबाट ३०० पाहुना सहभागी हुने पार्टीले जनाएको छ । उनीहरुलाई खानाका लागि महाधिवेशनस्थल तथा सुत्नका लागि ज्याठा, पुतलीसडक र सुन्धरामा प्रबन्ध मिलाइएको नेता रामनाथ ढकालले जानकारी दिनुभयो ।

उहाँले समूहगत छलफलका लागि अलग्गै मञ्च तथा मिडिया, पाहुना र सुरक्षाका लागि छुट्टै मञ्च स्थापना गरिने जानकारी दिँदै आधुनिक ढङ्गबाट विकास भएका माइकको प्रयोग गरिने र पार्टीको इतिहास, संस्कृति झल्कने खालका विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने बताउनुभयो ।

अहिलेसम्म केही जिल्ला तथा अपवाद छाडेर अधिकांश स्थानमा प्रतिनिधिको चयन भइसकेको छ । ती प्रतिनिधिले विभिन्न पदमा उम्मेदवारी दिनका लागि सचिवालयमा आएर फाराम भर्न सक्ने तथा अनलाइनबाट पनि सिधै फाराम भर्न सक्ने व्यवस्था मिलाइएको ढकालले बताउनुभयो ।