दाङ, १३ असार । एमाओवादीका सचिव टोपबहादुर रायमाझीले अध्यक्ष पुष्पकमल दाहालले अन्य वामपन्थी दलहरूसँगको कार्यगत एकता गर्नुअघि आन्तरिक कलह अन्त्य गरेको भए राम्रो हुने टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा सचिव रायमाझीले पार्टी भित्रको आन्तरिक कलह अन्त्य अनिर्वाय भएको बताए । ‘एमाओवादी भित्रको आन्तरिक कलह समाधान गर्न नसक्ने नेतृत्वले अन्य पार्टीहरूसँग गर्ने भनिएको कार्यगत एकता र मोर्चावान्दीको कुनै अर्थ छैन’, उनले भने ।
एमाओवादीले बिहीबार मात्रै वामपन्थी पार्टीहरूसँग कार्यगत एकता गरेर जाने सहमति गरेको थियो ।
यसैबीच, रायमाझीले पार्टी अध्यक्ष पुष्पकमल दाहालले पुरानो शैली र बिचार परित्याग गर्नुपर्ने बताएका छन् । उनले पार्टी सञ्चालन गर्ने पुरानै शैलीले एमाओवादीलाई कमजोर बनाएको बताए ।
‘अध्यक्ष पुष्पकमल दाहालका कारण पार्टी कमजोर बन्दै आएको छ’, उनले भने, ‘एमाओवादीका लागि नयाँ सोँच, बिचार र सांगठनिक संरचना अनिर्वाय भइसकेको छ ।’
अध्यक्ष दाहालको कार्यशैलीमा सुधार नआए एमाओवादी सञ्चालन हुन नसक्ने उनले बताए ।















प्रतिक्रिया