कृपा भण्डारी
पोखरा, ११ असार । कास्कीको लेखनाथमा रहेको सूर्य नेपाल प्रालिको गोदाममा भीषण आगलागी भएको छ ।
लेखनाथ–५ शान्तिमार्गस्थित सूर्य नेपाल प्रालिको कर्माचार्य ब्रदर्शसले सञ्चालन गरेको चुरोट गोदाममा राति २ बजेदेखि लागेको आगो अझैपनि नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी नियन्त्रणको प्रयास जारी छ । आगो नियन्त्रणको लागि नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब एक सय जना प्रहरी जवान खटिरहेका छन् भने आगो निभाउन एउटा दमकल र ८ वटा पानी ट्याङकर प्रयोग गरिएका छन् । सुर्तिजन्य बस्तु भएकाले आगो भित्रभित्रै ठूलो मात्रामा सल्कदै गएकाले क्षति पनि ठूलो नै हुने अनुमान गरिएको छ ।
गोदाममा ठूलो मात्रामा स्टक सामान रहेकाले निकाल्न अझै एक घण्टा भन्दा बढी लाग्ने प्रहरीले जनाएको छ । अहिलेसम्म ५० प्रतिशत मात्रै सामान निकालिएको र बाँकी सामान निकाल्ने काम भैरहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्तकुमार लामाले बताए । गोदाममा ४० ट्रक सामान रहेको सुर्य नेपालका प्रनिनिधि विदुर अधिकारीले बताए । अधिकारीले कति रकम बराबरको क्षति भयो भन्ने बारेमा अहिले यकिन रुपमा भन्न नसकिने उनले बताए ।
आगलागीको कारण खुल्न नसकेको प्रहरी उपरिक्षक लामाले बताएपनि गोदाममा कार्यरत गार्ड मानबहादुर रानाभाटले विद्युत सर्ट भएका कारण आगलागी भएको बताएका छन् । आगलागीबाट झण्डै ३ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । यसभन्दा अगाडि पनि १० बर्ष अगाडि कर्माचार्य ग्ु्रपकै कोशेली तेलको गोदाममा आगलागी भएको थियो ।
















प्रतिक्रिया