गुलरिया (बर्दिया), ११ असार । देहव्यापारबाहेक जीविकोपार्जनको विकल्प नदेख्ने बर्दिया राजापुरका वादीहरू हाल देहव्यापार अन्त्य गर्ने अभियानमा जुटेका छन् ।
देहव्यापारका कारण गाउँ, टोल र सिङ्गो समाज नै बदनामी हुन पुगेको भन्दै उनीहरू सामूहिक रूपमा क्लब गठन गरी देहव्यापार अन्त्य गर्ने अभियानमा जुटेका हुन् । लुकीछिपी गरिँदै आएको देहव्यापार अन्त्य हुन थालेपछि उनीहरूको जीवनशैली फेरिन थालिएको छ ।
समुदाय नै बदनामी भएपछि वादी युवाहरूले क्लबमार्फत निगरानी बढाएका छन् । बस्तीमा निगरानी समूहसमेत गठन गरेर हामी आफैँ देहव्यापारविरुद्ध उत्रिएको दिपज्योति युवा क्लबका अध्यक्ष स्वतन्त्र वादीले बताउनुभयो ।
हाम्रो समुदायमा अनैतिक क्रियाकलाप भएको पाइएमा सुरुमा सम्झाएर पठाउँछौँ, मानेन् भने प्रहरीलाई जिम्मामा लगाउँछौँ । राजापुरमा वादी समुदायका २९ घर रहेका छन् । तीमध्ये नौजना महिला यौन व्यवसायमा संलग्न हुँदै आएका थिए । राजापुरबाहेक कैलाली, दाङ, सूर्यपटुवाको पथ्थरवोझीलगायतका ठाउँबाट व्यवसायी महिलालाई राजापुरमा ल्याउने गरिएको क्लब अध्यक्ष स्वतन्त्र वादीले बताउनुभयो ।
यसरी यौन पेसेवर ल्याएबापत ५० प्रतिशत कमिसन घरधनीले लिने गरेको उहाँ बताउनुहुन्छ । वर्षौं पहिलेसम्म देहव्यापारमा संलग्न महिलासमेत पेसा परिवर्तन गरी समुदायबाट देहव्यापार अन्त्य गर्नका लागि गस्ती गरिरहेका छन् । राति १२ बजेसम्म गस्ती गर्छांै स्थानीय रजनी नेपालीले भन्नुभयो–“गुमेको पहिचान बदल्न जस्तोसुकै सङ्घर्ष गर्न पनि तयार छौँ ।”














प्रतिक्रिया