इटहरी, ११ असार । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले शिक्षाका लागि छनोट भएका विद्यार्थीहरूको सुन्दर भविष्य निर्माणका लागि आफूले विशेष चासो राखेर अङ्ग्रेजी भाषा शिक्षण सिकाइलाई प्राथमिकता दिँदै आएको बताउनुभएको छ ।
नेपाल अंग्रेजी भाषा शिक्षण संघ नेल्टाको आयोजनामा भएको कार्यक्रममा राजदूत बोडेले अहिले विश्वको ८५ वटा देशमा एक्सेस सेन्टर सञ्चालन हुँदै आएको तथा नेपालमा सञ्चालन भइरहेको एक्सेस सेन्टरका लागि छनोट भएका बालबालिकाको सुन्दर भविष्य बनाउन यसले ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पूर्वी नेपालको सुनसरी र मोरङ जिल्लाको दुई स्थानका ८० जना बालबालिकाले एक्सेस सेन्टरको सेवा पाउन थालेको तथा भविष्यमा यसलाई अरू विस्तार गर्दै लैजाने नीति रहेको जानकारी गराउनुभयो ।
राजदूत बोडेले सोही कार्यक्रममा एक्सेस कार्यक्रममा सहभागी भएका शिक्षक तथा विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक डा तुलसीप्रसाद थपलियालसो कार्यक्रमबाट नेपाल र अमेरिकाबीचको सम्बन्ध अरू सुधार हुन सक्ने दाबीसमेत गर्नुभयो ।
नेल्टा सुनसरी र मोरङले दुई वर्षका लागि एक्सेस सेन्टर सञ्चालन गर्दै साधारण विद्यालयको कक्षा ६ र ७ मा अध्ययनरत ४०÷४० जना विद्यार्थीलाई अध्ययनको अवसर प्रदान गरेको तथा त्यसका लागि अमेरिकी राजदूतावासमार्फत रु एक करोड सहयोेग प्राप्त भएको बताइएको छ ।














प्रतिक्रिया