१ कार्तिक २०८३, शनिबार

यसकारण हार्‍यो काठमाडौंमा एमाले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं, १० असार । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसले आफ्ना दुई क्षेत्र मात्र जोगाएन, एमालेको हातबाट लालकिल्लाका रुपमा रहदै आएको काठमाडौं क्षेत्र नं २ पनि पहिलोपटक खोसी छाड्यो । यसबाट कांग्रेसजनमा उत्साह थपिएको छ, त्यसमा पनि काठमाडौं २ मा हस्तिनापुर जितेको जस्तै भएको छ कांग्रेसका लागि । उता, एमालेले भने आफ्ना वरिष्ठ नेता माधवकुमार नेपालको नाक मानिएको यो क्षेत्र जोगाउन सकेन । मात्र, पार्टी उपाध्यक्ष वामदेव गौतमको क्षेत्र बर्दिया १ जोगाएर शान्तवना जीत हात पार्यो । मतका हिसावले माओवादी अरु खुम्चियो भने जनमत हिसावले एमाले पनि खस्किएको पाइयो । हुन त सामान्यतः उपनिर्वाचनलाई मध्यावधि जनमत मान्ने चलन छ तर यो उपननिर्वाचन आमनिर्वाचनको लगत्तै भएकाले त्यस हिसावले यसलाई हेरिएन पनि । सरकार अत्यन्त सहज बहुमतमा मात्र हैन, दुईतिहाइ बहुमतमा भएकाले सरकारको अंकगणितमा यसले खासै फरक पार्दैन । सत्ताको दोस्रो घटक एमालेको एक सिट सत्ताको पहिलो घटक कांग्रेसले लियो । यसरी हेर्दा, मधुमासपछिको नेपाली जनमत सत्तारुढ पक्षमै देखियो ।

मुलुकको समग्र राजनीतिमा यो परिणामको खासै अर्थ नभए पनि पार्टीको नवौं महाधिवेसनको संघारमा उभिएको एमालेका लागि भने अनेक कोणबाट यसको अर्थ खोज्न र निकाल्न सकिन्छ । पहिलो त यो एमालेका लागि अत्यन्त प्रतिष्ठित एवं ऐतिहासिक सिट थियो । काठमाडौंमा ५ र ७ निर्वाचन क्षेत्र हुँदा क्षेत्र नं। १ मै रहेको यो क्षेत्रबाट २०४८ सालको पहिलो आम निर्वाचनमा तत्कालिन माले अध्यक्ष मदन भण्डारीले तत्कालिन कांग्रेस सभापति तथा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर कम्युनिष्टका पक्षमा खाता खोलेका थिए । त्यसपछि एमाले अध्यक्ष मनमोहन अधिकारीको समेत निर्वाचन क्षेत्र रहेको यसबाट मदन भण्डारी पत्नीले समेत प्रतिनिधित्व गरेकी थिइन् । त्यसपछि १ न।बाट कित्ता काट भएको एमालेको यो पकड क्षेत्र संविधानसभाको पहिलो निर्वाचनमा एकीकृत माओवादीका झक्कुप्रसाद सुवेदीले खोसेका थिए । उनले तत्कालिन एमाले महासचिव माधव नेपाललाई पराजित गरेको यो क्षेत्र दोस्रो संविधानसभा निर्वाचनमा नेपालले आफ्नो पक्षमा उकासे । अहिले यो क्षेत्रबाट पहिलोपटक हसिया हथौडा झण्डा हटेर चारतारे झण्डा गाडिएको छ ।

एमालेले यो क्षेत्रलाई माधव नेपालकै क्षेत्रका रुपमा प्रक्षेपण गरेको छ । र, नेपालले पनि यस क्षेत्रलाई चाहिए भाडो, नचाहिए ठाँडोका रुपमा आफ्नो पकेट एरियाका रुपमै लिदै आएका छन् । उनी यस क्षेत्रलाई रौतहट १ भन्दा पनि बढी सुरक्षित ठान्छन् । त्यही कारण उनले रौतहट १ आफूसँग राखेर यो क्षेत्र खाली गरेका थिए । हुन त यो क्षेत्र खाली गर्नमा एमालेको आसन्न महाधिवेसनलाई जोडेर उनको राजनीतिक जोडघटाउले पनि काम गरेको थियो । अध्यक्षका अर्का प्रत्यासी केपी ओलीका खास मान्छे मानिन्थे, कृष्णगोपाल श्रेष्ठ । काठमाडौंमा ओलीको राजनीतिलाई मजबुत बनाउन यी रैथाने नेताको योगदान पनि थियो नै । तर, यी नेतालाई नेपालले काठमाडौं क्षेत्र नं। २ को घाँस हालेर महाधिवेसनको पूर्वसन्ध्यामा आफ्नो टाट्नोमा भित्राए । तर दुर्भाग्य, संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं ९ बाट पराजित नेपालका यी नयाँ जर्नेललाई काठमाडौं २ ले पनि पत्याएन । चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेजस्तै भयो कृष्णगोपालका लागि । काठमाडौं एमालेले पनि उनलाई पदलोलुप, अडान नभएको नेताका रुपमा चिन्ने मौका पायो । ओली पक्षमै रहेको भए केन्द्रीय सदस्य हुने अवसर थियो । यता माधव पक्षबाट केन्द्रीय सदस्यमा टिकट पाइहाले पनि जित्ने भन्दा पनि हार्ने सम्भावना नै बढी छ । यसले गर्दा, उनको हारको ह्याटिक बन्ने निश्चित जस्तै देखिएको छ ।

हुन त कृष्णगोपालको यो हार उनको हारमा मात्र सीमित छैन । यो हार एमालेको पनि हार हो र त्योभन्दा पनि बढी त माधव नेपालको हार हो । यो हारले उनको आफ्नो क्षेत्र त गयो नै, महाधिवेसनको पूर्वसन्ध्यामा भएको यो अप्रत्यासित हारले मनोवैज्ञानिक कोणबाट समेत ठूलो झड्का थियो । यो हारमा काठमाडौं २ का जनताले एमालेसँगभन्दा पनि नेता नेपालसँगको हिसाव किताव चुक्ता गरे । उनीहरुले आफ्नो क्षेत्रलाई पूर्व प्रधानमन्त्रीको क्षेत्रको रुपमा सम्मानित बनाउन खोजेका थिए, पूर्वस्वास्थ्य राज्यमन्त्रीको क्षेत्रका रुपमा हैन । तर, नेपालले उनीहरुको भावनामाथि खेलवाड गर्दै कृष्णगोपाललाई जबर्जस्ती थोपरे । परिणामतः रुपमा कृष्णगोपाल हारे पनि सारमा माधवन नेपाल नराम्ररी हारे । हुन त महाधिवेसनको पूर्वसन्ध्यामा भएको यो हारलाई उनले ओली पक्षको अन्तरघातका कारण भएको भनेर आरोप तेस्र्याउन सक्छन् । राजनीति हो, यसमा अलिअलि सत्यता नहोला पनि भन्न सकिन्न । त्योभन्दा पनि बढी सत्य स्थानीय नेतालाई पाखा पारेर कृष्णगोपाललाई काखा पारेको बदला पनि हुनसक्छ यो । स्थानीय कांग्रेसी नेता दीपक कुँइकेलको जीतले पनि आंशिक रुपमा सही, त्यही सत्यको उजागर गरेको छ ।

जे होस् काठमाडौं २ को पराजयमा कम्युनिष्ट विरासतमा बुल्डोजर चलेको छ । एमालेले आफ्ना तीन ठूला नेता मदन भण्डारी, मनमोहन अधिकारी र माधव नेपालको क्षेत्र जोगाउन नसकेर आफ्नो नाक काटेको छ । माधव नेपाल आफ्नो क्षेत्रमा फेरि उठ्नै नसक्ने गरी थला परेका छन् । कृष्णगोपालको राजनीतिक भविष्यमाथि नै प्रश्नचिन्ह लागेको छ । यसले तत्कालको आवेश शान्त पार्न काठमाडौंका ओली पक्षीय नेता कार्यकर्तालाई खुच्चिंग गर्ने बहाना त मिलेको होला तर घर पोलेर खरानीमा रमाउने भष्मासुर प्रवृति कसैका लागि पनि हितकर हुदैन । कृष्णगोपाल र माधव नेपाल त हारेकै हुन्, त्योभन्दा पनि ठूलो एमाले र सूर्य हारेका हुन् । किनकि, यी दुबैसँग जति ठूलोृ पद भए पनि ती त फगत एमालेका प्रतिनिधि मात्र न हुन् ।

गुटबन्दीले चितवनमा धक्का

चितवनको क्षेत्र नं ४ मा भएको उपनिवार्चनमा एमालेकी उम्मेदवार पार्वती रावल पराजित भएकी छिन् । नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेले यसपालि निर्वाचन जितेर समासद् हुने सौभाग्य पाए । ०६४ सालदेखि यस क्षेत्रमा उम्मेदवार बन्दै आएकी रावल अहिलेको उपनिर्वाचनमा पनि पराजित भएकी हुन् । ०६४ र ०७० को संविधानसभा निर्वाचमा तेस्रो स्थान प्राप्त गरेकी उनले यसपालि भने दोस्रो स्थान प्राप्त गरिन् । ०६४ मा उनको मत ६१४० थियो । ०७० मा आइपुग्दा उनले १००६७ मत प्राप्त गरिन् । यसपालिको उपनिर्वाचनमा भने रावलले १७ हजार दुई सय ७२ मत प्राप्त गरेकी छिन् । चितवनको पाँचवटा निर्वाचन क्षेत्रमध्ये एमालेको जनाधार कमजोर भएको मानिने यस क्षेत्रमा रावल उम्मेदवार बन्न थालेपछि जनमत एमालेको पक्षमा ह्वात्तै बढ्न थालेको छ ।

नेपालीका काग्रेसको गढ मानिने यस क्षेत्रमा सुशील कोइरालाको ‘उत्तराधिकारी’ भन्दै प्रचार गराएर रामकृष्ण घिमिरेलाई उम्मेदवार बनाएपनि एमालेकी उम्मेदवार पार्वती रावलले मतपरिणाममा ‘आच्छु आच्छु’ पारिन् । निर्वाचन जितेका नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेले २० हजार तीन सय १८ मत प्राप्त गरे । अघिल्लो निर्वाचन दश हजार भन्दा बढि मतान्तर भएको यस क्षेत्रमा अहिले एमाले र काँग्रेसबीच ३०४६ मत मात्रै फरक पर्‍यो । यसअघि तेस्रो स्थानमा रहेकी रावलले पहिले भन्दा सात हजार एक सय ३३ मत बढाएपनि यो जितका लागि पर्याप्त हुन सकेन । निर्वाचन जितेका घिमिरे नेपाली काँग्रेस, चितवनका पूर्व जिल्ला सभापति हुन् । चितवनको उप निर्वाचन यसपालि विद्युतीय मतदानबाट भएको थियो । यसपालि एकीकृत नेकपा माओवादीका उम्मदेवार खुसीराम पाख्रिनले ७ हजार आठ सय ५५ मत मात्रै प्राप्त गरे । चितवन क्षेत्र नम्वर ४ मा कुल ६५ हजार दुई सय ९९ मतदाता रहेकामा ४७ हजार सात सय ३१ मत खसेको थियो । यो खसेको मत जम्मा मतदाताको ७३ प्रतिशत हुन आउँछ ।

यसपालि एमालेकी पार्वती रावलले यस क्षेत्रबाट निर्वाचन जित्ने लगभग पक्कापक्की जस्तै थियो । तर पार्टीभित्रकै आन्तरिक समस्याले उनलाई पराजित गराएको जिल्लामा विश्लेषण गरिएको छ । एमालेको महाधिवेशनलाई लक्षित गरेर केन्द्रीय नेताहरुले जिल्लामा गरेको ‘गुटगत भेलाले’ निर्वाचन परिणाम काँग्रेसमा गएको भनाई छ । महाधिवेशनमा आफ्ना पक्षकालाई प्रतिनिधि बनाउन माधवकुमार नेपाल र रघुजी पन्त चितवन आएपछि यहाँ एकपछि अर्को गुटगत भेला भएको थियो ।

पार्टीका वरिष्ठ नेता माधव नेपाल असार ३ गते हेटौँडा आएका थिए । हेटौडामा उनले आफ्ना पक्षका चितवनका जिल्लास्तरका नेताहरुलाई बोलाएर ‘गुटगत भेला’ गरे । त्यसको भोलिपल्ट ४ गते उनी चितवन आए । गैँडाकोटमा उनले फेरि चितवनका उनै एमाले नेताहरुलाई बोलाएर गुगटत भेला गरेर आफ्नो पक्षमा माहोल बनाउन कस्सिए । अध्यक्षका अर्का प्रत्यासी केपी ओलीलाई तथानाम गाली गरे । जबकि असार ८ गते चितवनमा उपनिर्वाचन थियो । उपनिर्वाचन हुने क्षेत्रमा गएर एमाले उम्मेदवार रावलका पक्षमा केही बोल्न चाहेनन् । उल्टो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका लागि कस्सिएका नेता कार्यकर्तालाई भड्काउने काम गरे । यसले काँग्रेसीहरुलाई चलखेल हुने मौका दियो ।

पार्टी अध्यक्ष झलनाथ खनाल असार ५ गते चितवन आएपछि एमालेको पक्षमा माहोल त बढ्यो । तर भोलिपल्टबाट मौन अवधि सुरु भएपछि खासै प्रभावकारी भएन । असार ८ गते उपनिर्वाचन हुने दिन पनि माधव नेपालले रघुजी पन्तलाई ‘दूत’ बनाएर चितवन पठाए । निर्वाचनका लागि क्षेत्रमा खटिएका नेता कार्यकर्ताहरुलाई उसैगरि सदरमूकाम बोलाएर ‘गूटगत’ भेला गर्ने काम भयो । एकातिर निर्वाचन हुने, अर्कोतर गूटगत भेला हुन थालेपछि निर्वाचनप्रतिको सन्देश नकारात्मक भयो र रावलले यसपालिको निर्वाचन हारिन् ।

मौन अवधिमा काँग्रेसले निर्वाचन क्षेत्रमा भोजभतेर खुवाएर मतदातालाई आकर्षित पारेपछि यसलाई रोक्न नसक्दा पनि निर्वाचन हारेको विश्लेषण एमालेमा गरिएको छ । यद्दपि चितवनको क्षेत्र नं। ४ मा पार्वती रावलले एमालेका पक्षमा बढाउँदे गरको माहेलले काँग्रेस र अन्य दल भने अत्तालिएका छन् ।

मंसिर ४ गते भएको संविधानसभा सदस्यको निर्वाचन, २०७० मा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले चितवन क्षेत्र नम्वर ४ बाट २० हजार सात सय ६० मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत नेकपा माओवादीका चित्रबहादुर श्रेष्ठले १० हजार सात सय ३९ मत प्राप्त गरेका थिए भने नेकपा एमालेकी उम्मेदवार पार्वती रावलले १० हजार ६७ मत प्राप्त गरेकी थिइन् । कोइरालाले चितवन ४ र बर्दिया १ बाट चुनाव जितेर चितवन ४ नम्वरबाट राजीनामा दिएपछि यस क्षेत्रमा उप निर्वाचन भएको हो ।

त्यस्तै, एकीकृत नेकपा माओवादीले मंसिर ४ मा आफूले पाएको मतलाई आइतबार भएको उप निर्वाचनमा जोगाउन सकेन । एमाओवादीले मंसिर ४ मा भन्दा यो उप निर्वाचनमा दुई हजार आठ सय ८४ मत कम ल्याएको थियो ।

आइतबार सम्पन्न संविधानसभा सदस्यको उप निर्वाचन ०७१ मा चितवन क्षेत्र नम्बर ४ बाट एक जना स्वतन्त्र र ११ जना राजनीतिक दलका गरि १२ जनाले उम्मेदवारी दिएका थिए । चितवनको क्षेत्र नम्वर ४ अन्तर्गत भरपुर नगरपालिका वडा नम्वर ७, ८, ९, १३ र १४ का साथै साविकको शारदानगर र गुञ्जनगर गाविस, मंगलपुर, फूलवारी, शिवनगर, पटिहानी र गीतानगर गाविस पर्दछन् ।

चितवन ४ मा सम्पन्न भएको संविधानसभा सदस्यको उप निर्वाचनमा नौ जना उम्मेदवारको जमानत जफत भएको छ । एक जना स्वतन्त्र उम्मेदवार जोखु महतो सहित आठ जना राजनीतिक दलका उम्मेदवारहरुको जमानत जफत भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका रामविक्रम ठकुरी, नेकपा मालेकी सृजना वली, नेपाल परिवार दलका उम्मेदवार केशव आचार्य, जन प्रजातान्त्रिक पार्टीका किरणकुमार अधिकारी, नेपाल आमा पार्टीका कृष्णप्रसाद दवाडी, नेपाल मजदुर किसान पार्टीका पदमबहादुर मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवबहादुर वस्ती, नेपाल कम्युनिष्ट पार्टीका मालेकी सृजना रुवाली, राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार जगदेवी गुरुङ र स्वतन्त्र उम्मेदवार जोखु महतो थारुको जमानत जफत भएको हो ।

चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले संविधानसभा सदस्यको निर्वाचनमा खसेको कुल मतको १० प्रतिशत भन्दा थोरै मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको बताए ।

(दृष्टि साप्तहिकबाट)