काठमाडौँ, १० असार । गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठानले उज्जन श्रेष्ठको सम्झनामा मनाएको १७ औं स्मृति दिवसमा श्रेष्ठका हत्यारालाई कारबाही गर्न माग गरेको छ ।
समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले मुलुकमा विधिको शासन कायम गर्न सर्वोच्च अदालतको फैसलालाई सबैले सम्मान गरी त्यसको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा १० वर्षे युद्धका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटना तथा अमानवीय यातनाको निष्पक्ष छानबिन गरी दोषिालाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
महान्याधिवक्ता बाबुराम कुँवरले बलात्कार, हत्यालगायत मुद्दामा पीडित परिवारले क्षमादान दिए पनि माफी हुन नसक्ने बताउँदै अदालतको फैसलालाई कसैले पनि चुनौती दिन नसक्ने भएकाले उज्जनको हत्यारालाई ढिलो चाँडो कारबाही हुने विश्वास दिलाउनुभयो ।
अधिकारकर्मी सुबोध प्याकुरेल, कनकमणि दीक्षित, सुदीप पाठक, दिनेश त्रिपाठी, नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्साल, पीडित समुदायका जनक राउत, ज्ञानेन्द्र आरण लगायतले उज्जनको हत्यारालाई कानुनी कारबाही गर्न अदालतले दिएको फैसला कार्यान्वयन हुन नसक्नु दुर्भाग्यपूर्ण हो भन्दै उनको हत्यामा संलग्न पक्षलाई यो वा त्यो बहानामा नछाडी दण्डित गर्नुपर्ने बताउनुभयो ।
सभासद् रामहरि खतिवडाले सरकारले उनको हत्यारालाई अहिलेसम्म पनि कारबाही नगरी लाचारीपन देखाएको भन्दै सो विषयलाई संसदमा उठाइने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ र प्रतिष्ठानका संरक्षक राजकुमार श्रेष्ठले उज्जनको हत्यारालाई दण्ड दिएर पीडित परिवारलाई न्याय दिलाएपछि मात्र सो स्मृति दिवसको सार्थकता रहने बताउनुभयो । ओखलढुङ्गाको केराबारी–४ मा २०५४ मा आजैका दिन उनको हत्या भएको थियो ।
कार्यक्रममा यसवर्षको गणेश उज्जन स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार गोपाल बुढाथोकी, अन्नपूर्ण पोष्ट दैनिकका यम विरही र रेडियो कान्तिपुरकी कमला पन्थीलाई जनही ११ हजार १ सय ११ रुपैंयासहित सम्मान गरियो ।

पुरस्कृत व्यक्तिका बारे पुरस्कार छनौट समितिका सदस्य एवं कानुन पत्रकार मञ्चका अध्यक्ष डिल्ली आचार्यले चर्चा गर्नुभएको थियो । कार्यक्रममा उज्जनकुमारकी दिदी सावित्री श्रेष्ठद्धारा लिखित तथा पत्रकार गणेश पाण्डेद्धारा सम्पादित पीडाका ५००० दिन नामक पुस्तकको अग्रेजी संस्करण “5000 Days of Suffering” नामक पुस्तकको पनि विमोचन गरिएको थियो ।
उज्जनको हत्या अभियोगमा सर्वोच्च अदालतले एमाओवादीका नेता बालकृष्ण ढुंगेललाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपनि आजसम्म उनी पक्राउ परेका छैनन् । जबकि हत्या अभियोग लागेका अन्य अभियुक्तले जेल सजाय पाइरहेका छन् । राजनीतिक दलको नेता भएकै कारण ढुंगेलले उन्मुक्ति पाएकोमा पीडित परिवारले राज्यसँग आक्रोश पोखेका छन् ।















प्रतिक्रिया