२९ आश्विन २०८३, बिहिबार

एमाले महाधिवेशन दश दिन बाँकी: प्रतिनिधि तानातान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

प्रकाश सिलवाल

काठमाडौँ, ९ असार । नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशन आउन दश दिन बाँकी रहँदा सेती र उपत्यका अञ्चलबाहेक १४ अञ्चल समन्वय कमिटीअन्तर्गतका जिल्लाबाट प्रतिनिधि चयन पूरा भएको छ ।

हालसम्म मेची–५५, कोसी–१४७, सगरमाथा–५४, जनकपुर–२३, नारायणी–९७, बागमती–७४, गण्डकी–१२६, धौलागिरि–४७, लुम्बिनी–१९०, राप्ती–४३, भेरी–९१, कर्णाली–४४, महाकाली–६१ र सम्पर्क समन्वय विशेष कमिटी–३१ गरी एक हजार ८३ प्रतिनिधि चयन भएका छन् ।

अधिकांश जिल्लामा सहमतिका आधारमा प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । हालसम्मको विवरणमा एमालेमा संसदीय दलका नेता केपी शर्मा ओलीलाई अध्यक्षका पक्षमा बहुमत पुगेको जिकिर सो समूहले गरेको छ । ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्नो बहुमत आउने जिकिर गर्दै प्रतिनिधिलाई आफ्नो पक्षमा तान्ने कार्य प्रारम्भ गरिसकेका छन् ।

संविधानसभा उपनिर्वाचन भएका केही अञ्चल र जिल्ला, केन्द्रीय विभाग, जनसङ्गठनबाहेकका क्षेत्रमा मङ्गलबार प्रतिनिधि चयन हुनेछ । निर्वाचन भइसकेका ताप्लेजुङ, पाँचथर, इलाम, उदयपुर, महोत्तरी तथा सम्पर्क कमिटीका केही स्थगित क्षेत्रको परिणाम आउन बाँकी छ ।

“प्रतिनिधि चयनमा पार्टी सदस्यले देखाउनुभएको उत्साह तथा समझदारीले पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न मद्दत पुगेको हामीले महसुस गरेका छौं”– सोमबार पार्टी केन्द्रीय कार्यालय मदननगरमा आयोजित मूल व्यवस्थापन समितिको नियमित पत्रकार भेटघाटमा महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिले आपसी समझदारीमा सर्वसम्मतिमा आप्mना प्रतिनिधि चयन गरेका छन्, केही स्थानमा लोकतान्त्रिक विधिअनुरुप मतदान गरेर प्रतिनिधि निर्वाचित भएका छन् ।”

महाधिवेशन यही असार १९ गतेदेखि काठमाडौँमा हुँदैछ ।

काठमाडौँ उपत्यकामा मंगलबार

काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा, जुम्ला, धनुषा, सप्तरी र काठमाडौँ उपत्यकाअन्तर्गत रहेका पेसागत बुद्धिजीवी, मजदुर र विद्यार्थी विशेष जिल्ला कमिटीको प्रतिनिधि चयन मंगलबार हुनेछ ।

अनलाइनबाट प्रतिनिधि दर्ता

एमालेले महाधिवेशनलाई उच्चप्रविधियुक्त (डिजिटलाइज्ड) बनाउने क्रममा महाधिवेशन प्रतिनिधिको दर्तासमेत अनलाइनमार्फत रजिस्टे«सन गर्ने व्यवस्था गरेको जनाएको छ । महाधिवेशनमा प्रस्तुत गरिने दुई दस्तावेज(अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलद्वारा प्रस्तुत गरिने साङ्गठनिक प्रतिवेदन) प्रकाशन भइसकेको छ ।

प्रतिनिधिलाई साबुन, चस्मा र रुमाल

महाधिवेशनमा पार्टी स्वास्थ्य उपसमितिले निःशुल्क आँखा शिविर र चस्मा प्रदान, निःशुल्क दन्त शिविर, मधुमेह, उच्च रक्तचाप र मिर्गौला परीक्षण तथा अङ्गदान घोषणालगायत योजना बनाएको छ । सो उपसमितिका संयोजक योगेश भट्टराईले दिनुभएको जानकारीअनुसार प्रतिनिधिलाई साबुन, रुमाल, आवश्यक पर्नेलाई चस्मा, स्वास्थ्यसम्बन्धी जानकारीका पुस्तिकासहितको झोला वितरण गरिनेछ ।

महाधिवेशनस्थलमा प्रति कार्यसमयमा ३० जनाका दरले स्वास्थ्यकर्मी खटाइने र विशेष उपचारका लागि विभिन्न अस्पतालमा प्रबन्ध गरिएको छ ।

विदेशका कम्युनिस्ट पार्टीका प्रतिनिधि आउँदै

एमालेले महाधिवेशनको उद्घाटन सत्रका लागि विश्वका विभिन्न पार्टीका प्रतिनिधिलाई आमन्त्रण गरेको छ । अहिलेसम्म महाधिवेशनमा सहभागी हुनका लागि लेबनान कम्युनिस्ट पार्टी, वकर्स पार्टी टर्की, भियतनाम कम्युनिस्ट पार्टी, लाओस कम्युनिस्ट पार्टी, जनता विमुक्ति पेरोमुना श्रीलङ्का र वकर्स पार्टी बङ्गलादेशले स्वीकृति जनाइसकेका छन ।

प्रतिनिधि एकताका पक्षमा छन्: खनाल

कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले देशभरबाट छानिएका प्रतिनिधिलाई दुई समूहका भनी प्रचार गरिएको सन्दर्भमा सोधिएको जिज्ञासामा भावी नेतृत्व एकताकै आधारमा चयन हुने जिकिर गर्नुभयो । खनालले भन्नुभयो, “दुवै पक्षमा भनिएका केही प्रतिनिधिसँग मेरो कुरा भयो, उहाँहरु एकताकै पक्षमा छौं भन्नुहुन्छ ।” रासस